“ल है बहिनी ! घरको ख्याल गर्नुहोला है । दाइ पसलबाट घर फर्कन सधैँ ढिला गर्नुहुन्छ । छतमा जानलाई हामीसँग एउटा मात्रै चाबी छ । तपाईँहरूलाई लुगा सुकाउन र धाराको पानी थाप्न गाह्रो हुन्छ होला । दुईचार दिनलाई इनारको पानी चलाउँदै गर्नू । लुगाहरू बाहिरको बारहरूमा सुकाउनू । म केही दिनमै फर्किहाल्छु ल !” माइती हिँड्दै गरेकी घरबेटीले भाडामा बस्ने अर्पितालाई जानकारी गराइन् ।
घरबेटीकी छोरी र डेरावालकी छोरी एउटै स्कुलमा पढ्ने र असाध्यै मिल्ने भएकाले ती दुई परिवारबिचमा बाध्यताकै भए पनि एक प्रकारको सम्बन्ध भने कायमै थियो ।
जाडो बिदा सुरु भयो । घरबेटीकी छोरी श्वेताले डेरावालकी छोरी स्रष्टासँगै गाउँ जान्छु भन्दै जिद्दी गर्न थाली । ती बच्चाहरूसँग अर्पिता स्वयम् जाने भएपछि घरबेटी पनि ढुक्क भए र छोरीलाई पठाउन राजी भए ।
आमाछोरी गाउँ गएपछि डेरावाल अर्जुन एक्लै भए । घरबेटीसँग उनको खासै हिमचिम थिएन त्यसैले उनी घरमा भए-नभएको थाह नै हुँदैनथ्यो ।
एक दिन काम विशेषले घरबेटीका बुढाबुढी जिल्ला प्रशासन कार्यालय पुगे । उनीहरूले त्यहाँ अर्जुनलाई हाकिमको कुर्सीमा बसेको देखे । काम सकेर बाहिर निस्केर ढोकामा हेरे । प्रशासकीय अधिकृत ‘अर्जुन जिसी’ “भित्र” भनेर लेखिएको रहेछ ।
केही दिनपछि अर्पिता पनि नानीहरू लिएर गाउँबाट फर्किन् । घरबेटी दाइ र दिदीले आफ्नी छोरी श्वेतासँग स्रष्टाको गाउँ कस्तो रहेछ भनी सोधे । श्वेताले गाउँको सुन्दरता र त्यहाँ आफूले पाएको मायाका कुरा गरी । साथै उसले स्रष्टाको त गाउँमा मात्र होइन, अर्को सहरमा हाम्रो भन्दा पनि निकै ठुलो घर रहेछ भन्ने कुरा सुनाई ।
भोलिपल्ट, बिहान अर्पिता गाउँको कोसेली बोकेर घरबेटीकहाँ गई । यसअघि केही न केही बहाना बनाएर कोसेली लिन आनाकानी गर्ने घरबेटीले यसपालि भने खुसी हुँदै कोसेली लिए । अर्को दिन बिहानै हर्क दाइ तल आएर छतको ताल्चा खोल्ने अर्को चाबी दिँदै भने, “अर्पिताजी ! अब एकदुई दिनमै ट्वाइलेट र किचनमा पनि धाराको पानी आउने व्यवस्था हुँदै छ, ल ! अरू केही असुविधा छ भने भन्नुहोला है !” २७५
हरिप्रसाद गौतम, गुल्मी,
हाल : स्वयम्भू, काठमाडौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








