मानिसहरू ओहोर दोहोर गरिरहेका छन् । धेरै नचिनिएका छन्, चिनेका भेटिए पनि बोल्ने फुर्सद नभएको भाव देखेपछि चिनेकाहरू तर्केर हिँडिरहेका छन् । बुर्जखलिफाको आँगनमा अनि लिफ्टमा भेटिएका नयाँ अनुहारसँग भने अनुहारमै आँखा टाँसी-टाँसी बोल्ने र नजिकिने जमर्को चलिरहेकै हुन्छ ।

कोपको चलिरहेको एक्स्पो सिटिको रौनक छाडेर ४० किमीको दुरीमा रहेको बुर्जखलिफा पुग्ने हुटहुटीले मलाई अत्याधुनिक मेट्रो रेलको ढोकासम्म पुर्यायो ।

ढोकामा पुग्नु के थियो र आफसे आफ पाइला अघि बढ्यो । र मेट्रोको डब्बाभित्र पुग्यो । सुरुमा एक दुई जना मात्र उभिएका थियौं । पछि भिडभाड बढ्दै गयो । उभिनेको लहरमा मार्था भेटिइन् । औपचारिकताका दुई चार कुराहरू भयो । एक अर्काको चियो चासो भयो । उनले चासो अघि बढाइन्, ‘ओ ! मिस्टर हिम ! तिमि कोप-२८ मा आएको ! तिम्रो यसमा भूमिका के छ ?’

मैले नजिकिने दौरानमा भनेँ, ‘हेर मार्था, यो कोपको मिटिङ त उच्च अधिकारीहरूको बिचमा चलिरहेको छ । तथापि ग्रिन जोनमा मेरो कार्यपत्र प्रस्तुत गर्नु छ ।’

उनले जिज्ञासा राखिन्, ‘तिम्रो कार्यपत्रको विषय के हो नि ?’

मैले हौसिँदै जवाफ दिएँ, ‘कार्बन उत्सर्जन घटाउन मानवीय पहल ।‘

उनले सन्तोषको सास फेर्दै भनिन्, ‘राम्रो काम ! मलाई यो क्षेत्रमा यसरी काम गर्ने मित्र भेट्दा खुसी लाग्छ ।’

मैले आफ्नो काम पुरै नभन्दै पनि बुझ्ने व्यक्ति भेट्दा कता कता मनमा खुसी पलायो

भनेँ, ‘मार्था तिमीलाई यो विषय थाहा छ ?’

‘बिलकुल थाहा छ ।’

मलाई भने अब कुरा गर्ने विषय सकिएको हो कि जस्तो भान भयो ।

‘बुर्जखलिफा आइ पुग्न लागेको हो मार्था ?’ भनेर सोधें ।

उनले फेरी सरल जवाफ फर्काइन् – ‘हो हिम ! तिमि अबको दोस्रो स्टेसनमा ओर्लन सक्छौ । म चाहिँ अबको स्टेसनमा ओर्लन्छु । दुबई र बुर्ज खलिफाको आनन्द लिनु ।’

‘अँ साँची तिम्रो पेशा चाहिँ के हो ?’ सोधिन् ।

मैले छोटो जवाफ दिएँ, ‘वन विज्ञान !’

उनले हात हल्लाउँदै भनिन्, ‘मेरी हजुर आमा पनि वन विज्ञान पढेर त्यसमै काम गर्थिन् । तिमीले सोधिनौ । म चाहिँ एयरलाइन्समा काम गर्छु, पाइलटको रूपमा । जब म आकाशमा जहाज उदाउँदै हुन्छु । म मेरी हजुर आमाको हरित अभियान सम्झन्छु एकातिर भने अर्कोतिर मेरो यथार्थ तुलना गर्छु कि म भने आकाशमा कार्बन थपिएरहेको छु ।’

म धेरै बोल्न नपाउँदै । उनको र मेरा हातहरूले ‘बाइबाइ’ भन्दै बिदाइको जनाऊ दिइरहेका थिए ।