“यति महँगो जीवन उसै खेर जान दिनुहुन्न । देशको निम्ति केही न केही गर्नैपर्छ । हरि ! नयाँ काम शुरूवात गरौं ।

“हामीले के गर्न सक्छौं ? हामी आर्थिक रूपमा कमजोर छौं, जेनतेन श्रम त जुटाउन सकिएला,”  श्यामले भन्यो ।

“कुनै आश्रम खोलौं डलरको खेती गर्‍यो भन्छन् । कुनै अभियान चलाऔं मागिखाने भाँडो भन्छन्, अब के  गर्ने,” हरिले भन्यो ।

“समाजको  हित हुने काम गर्नु पर्छ ।”

श्यामले अनकनाउँदै भन्यो, “अहिले समाजमा  एउटा गर्नुपर्ने काम चाहिं भ्रष्टाचारी सुधार केन्द्र हो है !”

“भ्रष्टाचारीको पनि सुधार केन्द्र हुन्छ ? यो सुनेर हामीलाई पागल भन्छन् ।” ठट्यौली पारामा हरिले भन्यो ।

“ए हरि ! देशको निम्ति आवश्यक भनेकै अहिले भ्रष्टाचार व्याप्त छ, यो सुधार गर्न सकियो भने सबैको हित हुने थियो ।”

“हो श्याम ! अहिल्यै नै गएर प्रक्रिया अगाडि बढाइहालौं ।”

दुवै जना  प्रशासन गए र प्रस्ताव पेश गरे ।  सबै पत्र बुझाइसके पछि हाकिमले भन्यो, “यो संस्था दर्ता गर्न स्वकृति दिए बापत कति कमिशन छ ।”