हिसाब 

 

बच्चा हेरिदिने र घर धन्दा सघाउने भरपर्दो मान्छेको खोजीमा थिई बिनिता । नजिकैको मुसहर बस्तीबाट एउटी सम्पर्कमा आई । उमेर पन्ध्र-सोह्र थियो । काखे बच्चो पनि च्यापेकी थिई ।

“कति लिन्छेस् महिनाको ?”

“दश हजार रोपयाँ चाही माल्कीन ॽ”

“दुई हजार दिन्छु । हुन्छ ॽ”

“होई । ठिक बा .”

बच्चो च्यापेर बिहानै आउन थाली । रहलपहलले नै पालिए माउ / बच्चा । करिब दुई हप्तापछि साँझ फकर्ने बेला भनी,

“हमारा के सय रोपया दिँ माल्कीन ।”

सय रुपैयाँको नोट दिँदै बिनिताले सोधी, “किन चाहियो सय रुपैया ॽ”

“ससुरके बुखार बा । दबाई ला !”

महिना मरे पनि केटीले पैसा मागिन । बिनिताले पनि केही भनिन । झण्डै दोस्रो महिना मर्न लागिसकेको थियो । एकै पटक चार हजार दिनु पर्ने कुराले बिनिताको तनाब बढाउँदै थियो । एक साँझ फेरि भनी, “सय रोपया दिँ माल्कीन ।”

“किन चाहियो सय रुपैयाँ ॽ” शयन कक्षमा छिर्दै बिनिताले सोधी ।

“सासके बच्चा हुखे बाला बा… ।”

हातमा हजारका तीन वटा नोट लिएर निस्किएकी बिनिताले केटीलाई दिँदै भनी, “ला तेरो तनख्वा” । केटीले छक्क पर्दै पैसालाई हेरी र सोधी, “यि केतना रोपया बा ॽ…येतना रोपया ले जायम त हमार ससुर दारुमे उडादिहल… हमाराके महिनाके दुई हजार हि देहम… जब महिना खतम होइ, ओही दिने पैसा चाहि । एक दिन भि बाद ना चाहि..” केटीले घुक्र्याउँदै भनी ।

“तेरो महिना आज खतम भैसक्यो । ल भयो दुई हजार मात्रै नै लै जा ।”

पाँच सयका दुई वटा नोट दिँदै बिनिताले भनी । केटी खुसी हुँदै खुसि हुँदै घरतिर लागी । बिनिता ट्वाल्ल परेर हेरिरही ।

……………..

 

रगत

 

बिगत छ महिना यता टोलमा प्रत्येक चापाकल पालै पालो सुके । राममानले प्राविधिक बोलायो ।

“यताको पानीको लेबल नै घटिसक्यो । अब डिपबोरिङ गरेपछि पानी आउँछ । यही टोलमा अलि पर दुई महिनाअघि मैले सय फिटमा पानी निकाल्याछु । डेढलाख लाग्छ ।” प्राविधिकले प्रस्ताव राख्यो ।

“सय फिटमा पनि पानी आएन भने ?” राममानले शंका व्यक्त गर्यो ।

“आउँछ के राममान दाइ ! आएन भने यसो काम गरेको ज्याला मात्रै दिनुहोला ।” प्राविधिकले मध्य मार्ग देखायो ।

“अँह पानी आएन भने त पाँच पैसा दिन्न । गरे गर नगरे नगर । बरु तिमीहरुलाई खाना चैँ मै खुवाउँला ।” चाम्रो राममान पानी आउने कुरामा विश्वस्त हुन सकेन ।

प्राविधिक राजी भयो । तीन जना कामदार खटायो । धर्तीमाताको छातीमा धमाधम पाइप धसाइयो । चार दिनमा सयफिट पाइप रोपियो । तर आफ्ना सन्तानलाई चुसाउँदा चुसाउँदै सुकेको धर्तीमाताको छाती अझै रसाएन ।

कौसीमा उभिएर राममान बोरिङ् गाडेको हेर्दै थियो । उसको टाउको माथि हाँसिरहेको हिमालको थाप्लामा जमेका केही सेता हिँउ बाँकी भए पनि अधिकांश भाग खुइलिएर कालो भएको थियो । मुनिपट्टि रामबिरको खुइलिएको तालुको तल्लो भागमा सेता कपालको एउटा घेरो मात्र बाँकी थियो ।

“हैन तिमीहरुले त पाइप धस्दा धस्दै अम्रिका नै पुर्याउँछ कि के हो ?” राममानको व्यङ्ग्यले प्राविधिक रुञ्चे हाँसो हाँसे ।

“पानी अझै तल गयो जस्तो छ राममान दाइ एक सय पच्चिससम्म त पक्कै आउँछ । मन लागे पैसा थपिदिनु होला नभए पर्दैन ।” अलिअलि आत्तिए पनि प्राविधिकले हिम्मत हारेन । आमाको छातीमा अझै भाला धसाउँदै रगत निचोर्ने प्रयास गरिरह्यो ।