अफिसमा आएर बस्न पाएको थिएन उसलाई घरमा फोन गर्न मन लाग्यो । खल्तीको मोबाइल झिकेर सोध्यो, “डाक्टर आउनुभयो ?”

उताबाट बोलेको सुनिएन तर उसले पुनः भन्यो, “भीड छ होला नि । कति नम्बर परेको छ ? ठीकै छ नआत्तिनू, ज्वरो बढेको छैन क्यार डाक्टर आएपछि के भन्नुहुन्छ त्यही गर्नू । खबर गर्दै गर्नू । …बरु सुन त बाबुलाई न्यानो पारेर राख ल ? ”

खल्तीमा हात राखेको हिजो हाकिम साहेबले बिदा अस्वीकृत गरेपछि काम नलाग्ने कागजको टुक्राबाट बनेको एक दिने बिदा माग फारम रहेछ । उसले झिकेर डस्टबिनमा राख्यो । दराज खोलेर फाइल झिकेर टेबलमा राख्यो आजै हाकिमको टेबलमा पुर्‍याउनु पर्ने फाइलहरूको काममा व्यस्त हुन थाल्यो ।

कार्यालय सहयोगी आएर पानी राख्दै गर्दा उसले सोध्यो, “हर्कमान दाइ, हाकिम साहेबको गाडी आइपुग्यो ?”

“हाकिम साहेब त आज नआउने रे नरेश ड्राइभरले भनेको ।” हर्कमानले पानीको जग टेबलमा राखेर फर्कंदै गर्दा भन्यो ।

“किन के काम परेछ ?” उसले सोध्यो ।

“बिहान मर्निङ वाकमा आफैँले लिएर हिंड्नुभएको रहेछ गाडीले ठोकिदिएछ उहाँको कुकुरलाई । उपचार गर्न लैजानु पर्‍यो रे  ।“ हर्कमानले जवाफ दियो ।