ऊ सानैदेखि गुन्डा शैलीको अनुशरण गरेर आफ्नो अमिट छाप समाजमा छोड्दै हिँडिरहेको थियो । समाजमा कहिले फूललाई निमोठी दिन्थ्यो त कहिले काँडाहरू बाटाभरि छरिदिन्थ्यो । उसलाई देख्ने बित्तिकै मुटुहरू थर्कमान हुन्थे । समाजमा डरत्रासको माहोल भइरहन्थ्यो । प्रत्येक दिन उसबाट कोही न कोही कुटिएको, लुटिएको तथा मारिएको खबरहरूले अखबारका प्रमुख पानाहरू भरिएर आउँथे ।
समाजका प्रमुख पात्रहरूको एक भेलाले समाजलाई अपराध हिंसा डरत्रासमुक्त बनाउनुपर्नेमा एक्यबद्धता जाहेर गरे । सबै मिलेर एक दिन सरकार समक्ष शान्ति सुरक्षा माग गर्दै ज्ञापन पत्र बुझाए । परिणाम स्वरूप शान्ति सुरक्षाकाे भोका जनतालाई सुरक्षाको प्रत्याभूति गर्न सक्छ भन्ने आशयसहित उही गुन्डा नाइकेलाई आउँदो चुनावमा जनप्रतिनिधिका लागि उमेदवार घोषणा गरे ।
चुनाव जितेर अब आफ्नै बडाहरूलाई धम्क्याउँदै मन्त्री पद पनि पड्कायो । अब त शान्ति सुरक्षा कायम गर्ने सरकारको महत्त्वपूर्ण पद पाएपछि सहयोगी हातहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्दै “अपराधमुक्त समाजको सिर्जना गर्नुपर्ने कुरामा जोड दिँदै अपराधीको रूप हेर्न नपरोस् भन्दै उसले ऐना हेर्न छोड्ने प्रतिबद्धता प्रकट गऱ्यो
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला