“तपाईंमा रगतको कमी भएको छ । तपाईंको पेटमा जुका परेका छन् ।” सबै रिपोर्ट हेरेर अगाडि कुर्सीमा गमक्क परेर बसिरहेका हाकिम साबको आँखामा हेर्दै डाक्टरले भन्छन् ।

“हँ, कसरी ? त्यसरी रगत कमी हुने वा जुका पर्ने खालको मान्छे त होइन म !” हाकिमले अचम्म मान्दै प्रश्न तेर्स्याए ।

“कतै दूषित पानी पिउनु भएको थियो कि ?”

“अहँ छैन । मसँग अति महँगो अत्याधुनिक फिल्टर छ । विदेशबाट झिकाएको ।  त्यसले पहिला पानी फिल्टर गर्छ अनि अल्ट्राभाइलेट विकिरणद्वारा फिल्टर गरेको पानीलाई फेरि शुद्धीकरण गर्छ । त्यसैले पानीको कारण त हुँदै होइन ।” हाकिमले फुर्ति झारे ।

“कतै सागसब्जी, तरकारी, फलफूल राम्रोसँग नपखालीकन खानु भएको थियो कि ?”

“अहँ, त्यो पनि छैन । मेरो घरमा थुप्रै नोकर चाकरहरू छन् । उनीहरूलाई निर्देशन दिएको छु, सबै कुरा तीनचार पटक पखालेर मात्र पकाउने ।”

“त्यसो भए खाना खाँदा हात नधोईकन खाना खानु भाथ्यो कि कुनै दिन ?”

“अहँ, म त चम्चाले खाने गर्छु । म सधैँ साबुन पानीले राम्रोसँग मिची मिची हात धुने गर्छु । त्यसैले त्यो पनि हुन सक्दैन ।” उनको भनाइमा एक किसिमको दम्भ थियो ।

“कतै तिर टहल्न जाँदा अथवा खेतबारीतिर खाली खुट्टा हिँड्दा कसैले दिशापिसाब गरेको ठाउँ तिर टेक्नु भाथ्यो कि ?”

“के कुरा गर्नुभएको ? म खाली खुट्टा हिँड्ने मान्छे हुँ त ! एक से एक महँगो जुत्ता लगाएर हिँड्छु । अनि म त्यस्तो फोहोर हुने ठाउँतिर हिँड्ने मान्छे पनि होइन । त्यसैले त्यो त झन् हुनै सक्दैन ।”

“ल ठिक छ, त्यसो भए अहिले तपाईं जानोस् । अरू के के कारणले पेटमा किरा पर्न सक्दो रहेछ, थप अध्ययन गरेर खबर गर्छु । त्यतिन्जेल सम्म यो औषधि खानुहोला ।” भन्दै औषधि लेखिदिन्छन् डाक्टरले ।

हाकिमसाब त्यहाँबाट गएपछि डाक्टर उठेर झ्यालतिर जान्छन् र बाहिर हेर्छन् । पर चोकबाट एक हुल मानिसहरू उनकै क्लिनिक भएतिर आइरहेको देख्छन् । भिडको अगाडि केही मानिसहरूले एउटा ठूलो ब्यानर बोकेका हुन्छन् । नजिकै आएपछि उनले ब्यानरमा लेखिएको पढ्छन्, “भ्रष्टाचारीलाई किरा परोस् ।”

हाकिमलाई फोन गरौं कि नगरौं, डाक्टर दुबिधामा पर्छन् ।