उसले मोबाइलको किवर्डहरु थिच्दै वुबालाई फोन लगाई – “बुवा सञ्चै हुनुहुन्छ ?”

बुवाले जवाफ फर्काए – “सञ्चै छु । तिम्रो पढाइ कस्तो छ ?”

बलबहादुर थापा मगर

“राम्रै छ, बुवा । अलिकति पैसा चाहिएको थियो ।” – उसले भयसहितको आवाजले केही रकम माग गरी ।

बुवाको ब्लडप्रेसर हाइ भयो – “के कामका लागि चाहियो ?”

“किताब किन्नु थियो ।” – उसले दबेको आवाजमा जवाफ फर्काई ।

“सहरमा पढ्न बसेकी छे । काम पर्यो होला ? गलत कामको लागि पक्कै होइन ।” – आमाले मातृप्रेम जाहेर गरिन् ।

बुवाले केही नबोली फोन काटे । चुप लागेर कुखुराको खोरतर्फ लागे । भर्खर बासेको कुखुराको भाले निकाले र श्रीमतीलाई अह्याए – “जा ! माथि फ्रेसहाउस गएर पैसा लिएर आइजो ।”

भाले बेचेर आएको रकम सदमुकाम हिँडेको जीप चालकलाई दिँदै बुवाको अनुरोध गरे – “मेरी छोरीलाई दिनु है ।”

सदमुकाम पुग्ने बित्तिकै चालकले पैसा हातमा थमाइदिए । छोरीको निन्याउरो अनुहार एकाएक प्रफुल्ल भयो । ऊ चालकलाई धन्यवाद दिई र बिदा भई ।

ऊ दगुर्दै मेडिकल पसल पुगी । र बढेको स्वासप्रस्वास रोक्दै भनी – “दाइ ! इकोन दिनुस् त ।”