उसले मोबाइलको किवर्डहरु थिच्दै वुबालाई फोन लगाई – “बुवा सञ्चै हुनुहुन्छ ?”
बुवाले जवाफ फर्काए – “सञ्चै छु । तिम्रो पढाइ कस्तो छ ?”

बलबहादुर थापा मगर
“राम्रै छ, बुवा । अलिकति पैसा चाहिएको थियो ।” – उसले भयसहितको आवाजले केही रकम माग गरी ।
बुवाको ब्लडप्रेसर हाइ भयो – “के कामका लागि चाहियो ?”
“किताब किन्नु थियो ।” – उसले दबेको आवाजमा जवाफ फर्काई ।
“सहरमा पढ्न बसेकी छे । काम पर्यो होला ? गलत कामको लागि पक्कै होइन ।” – आमाले मातृप्रेम जाहेर गरिन् ।
बुवाले केही नबोली फोन काटे । चुप लागेर कुखुराको खोरतर्फ लागे । भर्खर बासेको कुखुराको भाले निकाले र श्रीमतीलाई अह्याए – “जा ! माथि फ्रेसहाउस गएर पैसा लिएर आइजो ।”
भाले बेचेर आएको रकम सदमुकाम हिँडेको जीप चालकलाई दिँदै बुवाको अनुरोध गरे – “मेरी छोरीलाई दिनु है ।”
सदमुकाम पुग्ने बित्तिकै चालकले पैसा हातमा थमाइदिए । छोरीको निन्याउरो अनुहार एकाएक प्रफुल्ल भयो । ऊ चालकलाई धन्यवाद दिई र बिदा भई ।
ऊ दगुर्दै मेडिकल पसल पुगी । र बढेको स्वासप्रस्वास रोक्दै भनी – “दाइ ! इकोन दिनुस् त ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










