बाबुराम न्यौपाने “उत्स”

मनीषा गाउँको स्कुलबाट बाह्रौँ कक्षा उत्तीर्ण गरी सहरको कलेजमा भर्ना भइन् । नयाँ कलेजमा मनीषा र रञ्जु खुबै मिल्ने साथी भए ।

एकदिन रञ्जुले आमासँग भनिन् ! ” ममी(आमा) म भोलि मेरो कक्षाकी मिल्नेसाथी मनीषालाई लिएर आउँछु है ।” आमाले अनुमति दिइन् ।

भोलिपल्ट मनीषा रञ्जुको घर आइन् ।

रञ्जुकी आमा बेलुकीको खाना बनाउन व्यस्त बनिन् ।

रञ्जुको बुबा अगुवा सामजिक कार्यकर्ता थिए र पुरेत्याइँ पनि गर्थे ।

 

सबैजना सँगसँगै खाना खान बसे । रञ्जुकी आमाले  मनीषालाई सोधिन् ।

” मनीषा तिम्रो आमाबाबा के गर्नुहुन्छ , नानी ।”

मेरो बुबा गाउँमा त आरानमा काम गर्नुहुन्थ्यो । बुबाले बनाएका खुकुरीको खुब डिमान्ड थियो । यहाँ सहरमा त मोटर ग्यारेजमा काम गर्नु हुन्छ ।” मनीषाले सहजै जबाफ दिइन् ।

जोईपोइ मुखामुख गर्न थाले ।

” ल छिटो छिटो खाना खाओ ।” रञ्जुकी आमाले चिडचिडाउँदै भनिन् ।

रञ्जुका आमाबुबाले खाना खाएनन् । ड्राइफुड खाए । रञ्जुकी आमाले भन्साकोठामा सुनपानी छर्किन् ।

“अगाडि सोधिएन । रञ्जुले बित्यास पारी । भोलि घरगाउँलेले थाहापाए भने के भन्छन् ।” रञ्जुकी आमा पतिसँग मन बिसाउँदै थिइन् ।

रातभर जोईपोइ खासखुस गरिरहे । धेरै तर्कवितर्क पछि एउटा दूरगामी निचोड निकाले ।

 

बिहान सबैजना उठे ।

“रञ्जु तिमीहरू दुवै मिलेर आजको खाना बनाउने है ।” आमा भन्दै थिइन् । बेलुकाको व्यवहारको भनक पाइसकेकी मनीषा छक्क परिन् ।

रञ्जु र मनीषा दुवैले मिलेर खाना तयार गरे ।

 

यत्तिकैमा छिमेकी दीपा रञ्जुका बुबासँग छोराको वर्तमनको साइत हेराउन आइन् । मनीषाले दीपालाई चिया लगेर दिइन् । दीपा र मनीषाको पहिले नै चिनजान थियो । मनीषा दीपाकी माइतीघरकि छोरी थिइन् ।

दीपा एकछिन् हेरेको हेऱ्यै भइन् । मनीषाले दीपालाई नमस्कार गरिन् । दीपाले नमस्कार फर्काइनन् ।

” तँ कसरी यहाँ मनीषा ।” दीपाले सोधिन् ।

” रञ्जु मेरी मिल्ने साथी अन्टी ।” मनीषाले छोटो जवाफ दिइन् । रञ्जुलाई केही सङ्केतहरू मिलिसकेको थियो ।

 

दीपा अलि कडासँग भन्दै थिइन् !

” रामप्रसाद गुरु यो कस्तो चर्तिकला हो ।”

दीपाका बुबा रामप्रसाद मुस्कुराए । उनले जवाफ दिए ।

” दीपा बहिनी मैले आजैदेखि मेरो अन्तर्दृष्टिको पुरानो चस्मा खोलेर नयाँ चस्मा लगाएँ । समयको गति र परिवर्तनको आँधी कसै गरे पनि रोकिन्न । छुवाछुत हाम्रो समाजको मानसिक रोग र दरिद्र सोचको उपज हो ।

अब मेरै घरबाट नयाँ बिहानी उदाएको संसारले हेर्नेछ । के गरौँ छोराको वर्तमनको साइत हेरौँ ?”  रामप्रसादले दीपाको अनुहारतिर पुलुक्क हेर्दै प्रश्न तेर्स्याए ।

दीपा चियाको बाफ उड्दै गरेको कप त्यत्तिकै छोडेर जुरुक्क उठिन् र केही नबोली फटाफट हिँडिन् ।

 

दमक,झापा