धेरै धेरै दान दिने दाताहरूलाई उनीहरूको दानको रकम अनुसारको सम्मान मञ्चमा चलिरहेको थियो । मुख्य पुराण वाचक गुरुजीले दाताहरूलाई विशेष आशीर्वाद दिइरहेका थिए ।

सम्मानको बीचबीचको समयमा पुराण पनि चल्थ्यो । जसमा नृत्य, झाँकी, प्यारोडी भजन आदिले भरपुर मनोरञ्जन दिन्थ्यो ।

आफू गरीब भए पनि पारी गाउँबाट पुराण सुन्न भनेर दलमान आफ्नो किशोर उमेरको छोरालाई लिएर आएका थिए ।

भजन र नृत्य हुँदैगर्दा उनको छेउमा बसेका पुराण सुन्न आएका दुई जना भक्त आपसमा गफ गर्दै थिए, “अन्तर्राष्ट्रिय स्तरको गुरुजी ल्याए नि आयोजकले ।”

“हो त सात दिन पुराण भनेको मात्रै एक लाख दिनुपर्ने रे त्यसमा हवाई टिकट ,सङ्गीतकार र झाँकीलाई छुट्टै रे ।”

उनीहरूको कुरा सुनेर र पुराणको दृश्य देखेर दलमानलाई  कस्तो कस्तो भयो । उनले पुराणको बीचैमा प्यारोडी भजनमा नाचिरहेको छोरालाई आफू नजिक बोलाए ।

“जाऊ बाबू, यो पैसा दान पात्रमा हालेर बाहिर आऊ,” भन्दै आफूसँग भएको एक सय रुपियाँ खल्तीबाट झिकेर छोरालाई दिई आफू बाहिरिए ।

पुराण नसकी दलमान आफ्नो छोरालाई नीतिको कथा भन्दै बाटो लागे ।

माइकबाट दान दाताहरूको नाम अझै वाचन भइरहेको थियो ।

इलाम