परियोजनामा उसले जागिर खाएको आज चार वर्ष भयो कार्यालय सहयोगीको रूपमा । आज जागिर सकिँदै छ, कार्यालयमा अन्तिम दिन ।
“सर म लागे है ।” अफिस आएको अन्तिम दिन उसले हाकिमलाई भन्यो ।
“ए ल हुन्छ, म अलि हतारमा छु । मिटिङमा जानु छ, भेट्दै गरौला नि है” भन्दै हाकिम कम्प्युटर तिरै आफ्नो ध्यान केन्द्रित गरे । ऊ पनि हवस् सर भन्दै हाकिमको कोठाबाट निस्क्यो ।
उसले अघिल्लो महिना हाकिमका नजिकका एक अफिसरको बिदाइ सम्झ्यो । सिद्धार्थ होटेलमा बिदाइ पार्टी गरिएको थियो । बियरको चुस्कीमा कोही थिए भने कोही कडा पेय पदार्थमा कुना काटेको खुर्सानी डुबाएर तातोपानी मिसाउँदै थिए, शुभ कामना प्रदान भै रहेको थियो । उपहार दिइएको थियो । रमझम पार्टी राती १० बजे सम्म चलेको थियो । अन्ताक्षरी खेलेका थिए । लोक दोहोरीमा उफ्री उफ्री नाचेका थिए ।
“ए दाइ हिँड्नु भा” गेटमा पुगेपछि गेटपालेले सोधे पछि ऊ झल्याँस्स भयो, ‘अ…अ म गएँ है फेरि आउँदै गरौला नि ।’
मलिन मुहार गराउँदै गेटपालेसँग हात मिलायो र गेटबाहिर निस्क्यो ।
दुई वर्ष जागिर खाएका अफिसरको त्यत्रो बिदाइ हुँदा‚ आफ्नो चार वर्षको कामको मूल्याङ्कन कसैले नगरेकोमा आफ्नै पदलाई धिक्कार्यो । फेरि एक चोटि अफिस तिर फर्केर हेर्यो । फर्केर कहिले नआउने बाचा गर्दै लाग्यो घरतिर ।
रोल्पा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










