‘गुनासो, आलोचना र तुलना यी तीन कुरा छाड्नसके जीवनमा सन्तुष्टि अवश्य मिल्नेछ ।’ थालेगोरुले सधैं चिन्तित रहने कलुवालाई सम्झाउने गर्थ्यो । थालेका यस्ता कुरा कलुवाले सुनेको नसुन्यै गर्थ्यो । किनकि, कलुवाका विचारमा यस्ता कुरा केवल चित्त बुझाउने बहाना मात्रै हुन् भन्ने लाग्दथे ।

‘थाले’ र ‘कलुवा’ टारीखेत मात्रै नभई सेराफाँटका पाँगोमा समेत जोत्ने खुबै बलिया हलगोरु थिए । उनीहरू तीन परिवारका खेतबारी जोत्ने हुँदा निकै पीडित पनि थिए । त्यसैमाथि पनि कम उमेरको र अग्लो हुनाले जोताइको जोडबल कलुवामाथि अलि बढी नै पर्ने गरेको थियो । त्यसैले जुवाको दाइनेतिर नारिने पीडित कलुवाले थालेसँग सधैँ आफू धेरै पीडित भएको गुनासो गरेको सुन्दा थालेले आदर्शका कुरा गरेर कलुवालाई धैर्य गर्न भनी सम्झाउने गरेको थियो ।

न यो थालेगोरुले आदर्शका अर्तीउपदेश दिने क्रम रोकिन्थ्यो न तीन परिवारका खेतबारी नजोती सुख पाइन्थ्यो । अझ हलको दाइनेतिर नारिने हुँदा हलीदाइको दाइने हातको लट्ठी पनि कलुवाकै ढाडमा पर्ने गर्थ्यो । त्यसैले पनि कलुवाले कम्तीमा एउटा कुराबाट भए पनि मुक्ति पाउने उपाय सोच्यो । जसअनुसार उसले आजको जोताइमा आफू निकै कमजोर भएको अभिनय गर्‍यो ।

जति पिटे पनि कलुवामा हिजोअस्तिको जस्तो सक्रियता नदेखेपछि हलिदाइले यसपालि देब्रेतिरको थालेगोरु माथि लट्ठी बर्साउन थाले । कुटाइको मार परेपछि थालेले बाध्य भएर जोडजोडले हलो नतानी सुखै पाएन । थालेले राम्रोसँग तान्न थालेपछि कलुवालाई पनि सजिलो हुँदै गयो ।

अब भने जबजब पहिले झैं आफूमाथि मात्र जोताइको बोझ आउँथ्यो तब कलुवाले आफू कमजोर भएको बहाना बनाउन थाल्यो । त्यसपछि उता हलीदाइले पनि बुढो थालेलाई समेत कुटेपछि मात्र हलको सन्तुलन मिलेको महसूस गर्न थाल्यो । कलुवा पनि आफ्नो जुक्तिले काम गरेकोमा निकै खुशी थियो ।

यता दुब्लाउँदै जान थालेको अवस्था देखेर कलुवाले बिस्तारै सोध्यो, “थालेदाइ !  कुनै गुनासो त छैन नि ?” कलुवाको व्यंग्यात्मक कुरा सुनेर थालेले जवाफ दियो, “भाइ ! यी आदर्शका कुरा त आफूलाई नपर्दासम्म पो रहेछन् !

कलुवा एकातिर जोताइको बोझ कम भएकोमा खुशी थियो भने अर्कातिर थालेगोरुको अर्तीउपदेशबाट मुक्ति मिलेकोमा गद्गद  थियो ।