“संसारमा दान भन्दा ठूलो पुण्य अरु केही छैन, आउनुहाेस् यस शुभ कार्यमा सकेजति दान गर्नुहाेस् ।”कथा वाचकले कथा सुनिरहेका भक्तजनहरुलाई लक्षित गर्दै भने ।

लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा  आयाेजित सप्ताह महायज्ञमा मन खाेलेर दाताहरूले दान गरिरहेका थिए।

दाताहरुलाई प्रमुख कथा वाचक पण्डितजीबाट दानकाे रकमअनुसार दाेसल्ला, रामनामी र खादा ओढाएर सम्मान गर्ने कार्य पनि बिच बिचमा चली नै रहेको थियो ।

“हजुरसँग पनि हामीले ठुलो आशा गरेका छाैं ।”

“दिएर बिर्सनु दान हाे” भन्ने पण्डितजीकाे प्रवचन गम्भीर भएर सुनिरहेका सतानन्दलाई महायज्ञ आयाेजक समितिका अध्यक्षले सहयोगकाे आशा गर्दै भने । एकलाख दान गर्ने दातालाई दाेसल्ला ओढाएर गुरुबाट सम्मान गरिने र शिलालेखमा नामसमेत लेखिने कुरा उनले बताए ।

“सकेको गरूँला ।” उनले अध्यक्षलाई आश्वास्त पारे।

केही बेरपछि  दाताहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु भयाे। उद्घाेषकले एक लाख र एक लाखभन्दा माथि दान दिने दाताहरूलाई सम्मानका लागि मञ्चमा बाेलाए । उनान्सय हजार नाै सय उनान्सय रुपैयाँ दान गर्ने सतानन्दकाे नाम भने पढेर मात्रै सुनाए ।

“तिमी त बुद्धि नभएका रहेछाै, एक रुपैयाँ थपेको भए सम्मान पाउँथ्याै ।” मञ्चबाट उत्रिएका उनका साथी दयानन्दले आफूले ओढेकाे दाेसल्ला मिलाउँदै सतानन्दलाई भने ।

“मैले दान गरेँ ।”

सतानन्द मुस्कुराए ।