थाकेका पाइलाहरू विना गन्तव्यको बाटोमा हिंडिरहेछन् । मेरो अगाडिको बस मलाई हेरिरहेछ, म गन्तव्य नसोधी त्यो बसमा चढ्छु । बसमा चालक छ तर ऊ गाडी चलाउँदैन । बसका मानिस एक अर्कालाई हेर्छन् । कसैले बोल्ने साहस गर्दैन । म ती मानिसहरू सरह चूपचाप बस चल्ने पर्खाइमा टोलाउँछु ।
मेरो हालत यो बसमा भएका मानिसहरू जस्तै छ । मैले हरेक दशैं मेरो बालपनका साथीहरू सम्झिन्छु । यस पटक पनि सम्झिएँ । मैले मेरो मुस्कान फिर्ता ल्याउन हरेक रात आफूलाई आश देखाएँ । कयौं दशैं बिते तर मेरा साथीहरू देश फर्केनन् । मैले हरेक वर्ष दशैंमा जमरा उमारें, टिका लगाउन कोही भएनन् । मैले देशको माया बुझाउन उनीहरूलाई अनेकौं कथा सुनाएँ, उनीहरूले मलाई अभाव मात्र देखाए । मैले देश बदल्ने सपना देखें तर त्यो केवल सपनामा सीमित भयो । मेरो हातमा कलम त छ तर कलमको परिवर्तन ल्याउने क्षमता छैन ।
मेरो देशले युवामा सपना देख्यो , नयाँ नेपाल देख्यो तर युवाले अवसर भेटेन । मलाई हरेक रात निर्मला पन्त जस्ता पात्रले झस्काए । मैले कयौं निर्मला मेरो समाजमा देखें । उनीहरू मलाई हेरेर रुन कराउन थाल्छन्, सहयोगको अपेक्षा गर्छन् । म उनीलाई हेरेर सँग सँगै रुन्छु । म मेरो छिमेकीलाई हेर्छु, दुई छाक खान नपाएर पेट समातेर बिहानीको पर्खाइमा रातभर छटपटिन्छन् । मेरो कसौंडीमा खाना छैन । म चाहेर पनि केही दिन सक्दिन । हो , यसैगरी चाहेर पनि म देशमा बस्न सक्दिनँ । मैले देशको लागि गर्नु धेरै छ तर मसँग न साहस छ न क्षमता । म क्षमता बढाउने नाममा विदेशिन लोभिन्छु ।
मैले चाहिने जति सबै सामान झोलामा हालें । मेरी आमाका आँखाले नजान आग्रह गरिरहे तर म रोकिनँ । अहिले म एयरपोर्ट जान बसमा छु, बस चल्ने पर्खाइमा छु । मेरी आमा म फर्कने पर्खाइमा छिन् र मेरो देश पनि मेरो पर्खाइमा बसिरहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










