‘प्रेमको नियम हुन्छ भन्ने कुरा तिमी मान्छौ नि ?’ एकदिन मैले उसलाई भनेकी थिएँ ।
‘संसारमा दुईवटा कुराको नियम हुँदैन– पहिलो युद्ध, दोस्रो प्रेम ।’ उसले मेरो कुरामा विमति जनाएको थियो ।
‘युद्धको नियम नभएको होइन, उल्लङ्घन गरिएको मात्र हो ।’ मैले जिकिर गरेकी थिएँ ।
‘युद्धको नियम कसैले नमानेको भएर त प्रेमको नियम बनाउन कसैले पनि जाँगर नचलाको होला नि ।’ उसले मेरो कुरालाई हाँसोमा उडाएको थियो ।
‘यो दुनियाँमा प्रेमको पनि नियम छ, युद्धको जस्तै । तर युद्धमा झैं प्रेममा पनि नियम उल्लङ्घन भएकैले त प्रेममा विकृति, विसङ्गति, घृणा, शङ्का उब्जेको हो नि ।’ म उसको बुझाइलाई ट्र्याकमा ल्याउन कोशिश गरिरहेकी थिएँ ।
‘विकृति, विसङ्गति, घृणा, शङ्का सबै मान्छेले प्रेममा कोरेका काल्पनिक र कृत्रिम नियमका परिणाम हुन् । मानिसबाहेक अन्य प्राणीको संसारमा न नियम छ, न सीमा । त्यसैले उनीहरूको संसारमा विकृति, विसङ्गति, घृणा, शङ्का केही छैन ।’ ऊ पनि मेरो भनाइको खण्डन गर्दै थियो ।
प्रेमको नियम र सीमाका बारेमा ऊ मलाई बुझाउने प्रयास गर्दै थियो । मलाई अझै चित्त बुझिरहेको थिएन । उसले जति बुझाउन प्रयास गरे पनि म सीमाविहीन प्रेम हुनै नसक्ने भनेर लगातार जिरह गरिरहेकी थिएँ ।
‘जब प्रेम सीमाको फ्रेममा कैद हुन्छ, तब पर्याप्त हावापानी नपाएको बिरुवा झैं टाक्सिन्छ ।’ ऊ पनि आफ्नै जिरह गर्दै थियो ।
‘सीमाविहीन कुराले त अराजकता ल्याउँछ, अराजकताका पक्षधरहरू आफैं पनि अराजक हुन्छन् । तिमी अराजक कुरा नगर ।’ म ऊसँग अलि कडै रूपमा प्रस्तुत भएकी थिएँ ।
‘जब सीमा कोरिन्छ, तब न सीमा मिचिन्छ, सीमा नै नभएपछि त सीमा मिच्ने प्रश्नै उठ्दैन नि । सीमा नमिचिने भएपछि अराजकताको पनि कुरै आउँदैन ।’ ऊ लगातार शालीन रूपमा आफ्नो विचार राख्दै थियो ।
ऊ र म बीच प्रेममा सीमाको पक्ष र विपक्षमा लगातार तर्क वितर्क हुँदै थियो । उसका शालीन तर्कले म ऊसँग प्रभावित हुँदै गइरहेकी थिएँ । ऊसँग म थाहै नपाई प्रेमको यात्रामा गुड्न लागिसकेकी रहेछु । मैले कहाँबाट प्रेमको सीमा क्रस गरेँ, पत्तै पाइन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 









