लत

“कति खान्छौ भाइ गुट्खा दिनको ? १० वटा ? १२ वटा ?” हरिदास प्रश्न गर्दै थिए ।

पिच्च पिच्च पार्दै सडकको खाल्डोमा थुक्दै भन्याे,  “जीवन गुजारा गर्न गाह्रो छ । खाइन्छ दिनमा १०/१२ वटा, स्वास्थ्यलाई खराब भए पनि खाँदा आनन्द आउँछ ।”

हरिदासलाई नि स्वाद लिन मन लाग्यो । आनन्द भन्ने कुरो के रैछ ? १ वटा माग्यो। मुखमा हाल्याे । एकछिन रिँगाएको जस्तो भयो हरिदासलाई । पिच्च पार्याे । हल्का शरीर चङ्गा भए जस्तो भयो ।

बिस्तारै १/२ गर्दै हरिदासका जीवन चल्दै गए पनि बिस्तारै गुट्खाको सङ्ख्यामा दैनिक वृद्धि दर बढ्दै गयो ।

आजभाेलि बाटोमा भेट्दा पनि कसैसँग बोल्दैन हरिदास । मुखमा भोला हुन्छ । पिच्चपिच्च पार्ने उसको दैनिकी भएको छ । भोलालाई नि प्रश्न गर्न बिर्सिएको छ। आफ्नै लतमा मस्त छ ।

===

प्रथा

चिनको गोवान्जाउ प्रान्तमा सिमोनका बाबुआमा बस्दै आएका थिए । चिनको प्रान्तमा बस्दै गर्दा सिमोनका बुवाको निधनपछि आमासँग बस्दै आएको थियो । सिमोनको आमाले सिमोनलाई धेरै दुख गरेर हुर्काइन् । बुढाको निधनपछि सिमोनलाई गिट्टी बालुका चालेर कुटेर पढाइन् । ठूलो मान्छे बनाइन् । जागिरपछि बुढी आमाको हेरचाह गर्ने सिमोनको ठूलो इच्छा थियो । आमाको रहर र खुसीमा रमाएर बाँच्ने सिमोनको भगवानसँग प्रार्थना थियो ।

तर गोवान्जाउ प्रान्तमा एउटा पुरानो प्रथा थियो । आमाहरुलाई ८० वर्ष काटेपछि डाँडाको भिरबाट डोरीले बाँधेर लडाएर शरीरलाई टुक्रा पारी गिद्धहरुलाई खुवाउँदा सिद्धी प्राप्त हुने विश्वास थियो । सबैले त्यस्तै गर्थे । बाचिरहेकी सिमोनकी आमा ८० लागिन् । अब सिमोनले पनि आमालाई त्यसरी नै भिरबाट लडाएर मृत्यु गराउनु पर्ने बाध्यता थियो । आमाको पनि दिन आयो । सिमोनलाई असहय पीडा भयो । गाउँको प्रथाको अगाडि सिमोनको केही सीप लागेन । अनन्तमा सिमोनले आफ्नो आमालाई लगेर भिरबाट लडाइदियो । आमाले छोरालाई भिरबाट लड्दै गर्दा हात दिइरहेकी थिइन् । सिमोन आफ्नै प्रान्तको प्रथा बिचमा रोइरहेको थियो ।

===

पैसा

निरमतीलाई पैसाको महत्त्व कति हुन्छ भनेर थाहा छ । पैसा भयो भने १ किलो चामल किनेर खान पाइन्छ । दिनभर ज्यामी काम गरेर दिनको २०० रुपियाँ आउँछ निरमतिलाई । बुढा पोहोर साल हैजाले बिते । जिम्मेवारी थप भयो । ४ वटा बच्चा छ्न् । एक्लो महिलालाई पनि ठेकेदारले नजर लगाउँछ्न् । जिस्काउँछ्न् । मौका परे आफ्नै बनाउन खोज्छ्न् । २०० रुपियाँले जीवनको दैनिकी धान्न मुस्किल छ निरमतिलाई ।खोलामा चिसो पानीबाट बालुवा निकालेर चाल्नुपर्छ, दिनभरि । निरमतीलाई ढाड दुख्ने व्यथा छ ।

उता धनमतीसँग टन्न पैसा छ । बुढा लाहुरे छ्न् । पैसाको कमी छैन । हिँड्डुल मेकअप बेग्लै छ । सबैका तन्नेरी आँखा धनमतीतिरै । पैसाको के कमी ।

एक दिन धनमतीसँग  पैसाकाे महत्त्वबारे साेध्न पुगेछु । धनमतीले  तुजुक देखाउँदै  ठूलठूला कुराहरू गर्न थालिन् ।

यत्तिकैमा हाम्राे कुरा सुनिरहेकी एकजना बैनीले भनिन्,  “धनमतीलाई के सोध्छौ पैसाको महत्त्वको बारेमा । बरु दिनरात भोको पेटको लागि चिसो खोलामा बिहानै गएर काम गर्ने निरमतीलाई सोध ।”

अभावसँग सोध्न म निरमतीको घरतिर लागेँ । घरमा पुग्दा निरमती ढाडको व्यथाले काम गर्न नसकेर भोकै थला परेर ओछ्यानमा पल्टिरहेकी थिई ।

===

परिवर्तन

छोरा बुहारीलाई सासूससुराले निकै मायालु व्यवहार । बुहारीलाई घरकै लछ्मी मान्थे । दिर्घबहादुरको एउटै छोरा हो विकास । एमबिबिएस सकेर विकासले गाउँकै सिर्जनासँग ५ वर्ष पहिले लगनगाँठोमा बाँधिएको थियो । विकास पोखरा कै एक हस्पिटलमा कार्यरत थियो । दिनहरु खुशिसाथ बित्तै थिए । समयको खेल भनौँ एक पटक काठमाडौँबाट पोखरा फर्कंदै गर्दा यति इयरलाइन्सको प्लेन दुर्घटनामा परी विकासको दुखद निधन भयो ।

दिर्घबहादुर छोराको मृत्यु पछि निकै बिरामी परे । नातिनतिना खेलाउने सपना र सिर्जनाले बुनेका सपनाहरु सपनामै सीमित हुन पुगे । सिर्जनाको बैँस धेरै बाँकी थियो । बाकी थिए आमा बन्ने रहर र श्रीमानसँग सुन्दर जीवन बिताउने इच्छा । सासूससुराबाट सिर्जनाले छोरिकै माया पाएकी थिई । मायामा कुनै घटिबडी थिएन ।

विकासको मृत्युपछि सिर्जना नितान्त एक्ली थिई । केही वर्ष सिर्जनाका दिन यत्तिकै यौनबिनाको मरुभूमिमा बिते ।
दीर्घ बहादुर प्रगतिशील विचारका समाजसेवी व्यक्ति थिए । समाजका हर कुरामा समयअनुसार परिवर्तन चाहन्थे । बुद्धिजीवी थिए । सिर्जनाको एक्लोपन देखेर दिर्घबहदुरलाई नरमाइलो लाग्न थाल्यो बिस्तारै । सिर्जनाका रहर सपनाहरू पूरा गर्न एउटा सुशील पढेलेखेको राम्रो व्यवहारको केटो खोजेर विवाह गरिदिने विचार गरे । यो कुरामा बुहारी सिर्जना पनि सहमत भई। उनले केही दिन पछि छोरी झैँ गरेर सिर्जनालाई राम्रो केटाको घर अन्माई दिए । नयाँ श्रीमान नयाँ घरमा सिर्जना पनि खुशिसाथ जीवन बिताउन थाली ।