“कठै मेरो अनुहार ! न कुनै खुसी न कुनै रङ्ग ” ऊ ऐना हेरेर गुन्गुनाउँदै थिई ।

उसले कपाल पन्छाई, सिउँदोमा हेरी, सिन्दुर थिएन । न गलामा पोते, माला न कुनै सिङ्गार पटार ।

उसले विगतको खुसी जीवन, रङ्गिन पल र सिङ्गारले सझिएको अनुहार सम्झी । दुबै आँखाबाट आँसु झर्न थाल्यो।

“हाम्रो समाजमा श्रीमतीको मृत्युसँगै पुरुषलाई अर्को विवाह गर्न खुलेआम छुट दिइन्छ। यस्तो लाग्छ- श्रीमतीको मृत्यु दर्तासँगै श्रीमानले भर्जिनिटीको प्रमाण पत्र पनि पायो ।” उसले मनमनै सोची ।

उसले आँसु पुच्दै, ठुल्ठुला आँखा पारेर प्रश्न गर्न थालीः

महिलालाई चै किन विभेद ?

किन महिलाले त्यो छुट नपाउने ?

किन महिलाले पुनः खुसी हुन र रङ्गिन जीवन जिउन नपाउने ?

श्रीमानको मृत्युपछि अर्को विवाह गर्ने महिलालाई अझै पनि राम्रो दृष्टिकोणले किन हेरिँदैन ?

के महिलाले अब आफू भर्जिन भएको प्रमाण-पत्र बनाएर बोकेर देखाउँदै हिँड्नुपर्ने हो ?

उसका मनमा यी र यस्ता अनेकन प्रश्नहरु अनुत्तरित बनेर उब्जिरहेका थिए। जवाफ कसले दिने ?