राम्रो रोजगारी र व्यवस्थित जीवन जिउनका लागी पाल्मो ८ वर्ष पुग्ने बित्तिकै उनको बाबा र आमा सपरिवार नेपाल छोडी अर्कै देशमा बसाई सर्न पुग्दछन् जहाँ अङ्ग्रेजी भाषा नै मुख्य रूपमा बोलिने गरिन्छ । आफ्नो देशमा आफ्नै भाषा, परम्परा र संस्कृतिमा रमाइरहेका उनीहरू परदेशमा आएर त्यहीँको भाषा शैली र रहनसहनमा घुलमिल हुन सुरुमा उनीहरूलाई अलि असहज हुन्छ । तथापि उनीहरू अङ्ग्रेजीमा राम्रै वार्तालाप र लेखाइ पढाइ गर्न भने सक्दछन् ।

केही समयपछि उनीहरूको दिनचर्या अलि सजिलो हुँदै जान्छ । उनीहरू विभिन्न सार्वजनिक उद्यान र राम्रा राम्रा ऐतिहासिक स्थलहरूमा घुम्न जान्छन् अनि सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू राख्दछन् । एक दिनको कुरा, बाबाआमा काम अनि पाल्मो विद्यालय सकेर तीनै जना घर फर्कन्छन् । घरको खाना मात्र कति खाने आज यसो बाहिर खान जाऊँ भनी उनीहरू साँझपखतिर बाहिर निस्कन्छन् ।

हिँड्दै जाँदा उनीहरू नजिकैको एउटा राम्रो भोजनालय अगाडि पुग्छन् र त्यहीँ भित्र प्रवेश गर्दछन् । उनीहरूलाई देख्नासाथ एक जना बेरा हातमा व्यञ्जन सुची लिएर आउँछ र के सेवा गरौँ भनी सोध्छ । पाल्मोले ऐसै ‘लेसग्ना’ रोज्छिन् र बाबाआमाले चाहिँ चस्स पिरो खाने भनी उत्सुक हुँदै ‘ज्यालपेना’ पिज्जा भनी मगाउँछन् अनि त्यसपछि त्यहीँ खाइरहेका सबै जना मानिसहरू उनीहरूको कुरा सुनेर मुखामुख गर्दै हाँस्छन् । बेरा पनि हाँसो थाम्न खोज्दै ती लजान्य र ह्यालपेन्यो हुन् भनी बुझाउन खोज्छ । सबै हाँसेको देखेर उनीहरू असन्तुष्टि र असहज मान्दै हत्तपत्त खाइसकेर पैसा तिरेर बाहिर निस्कन्छन् ।

उनीहरू तीनै जना बाटोमा ‘जे भए पनि तिनीहरू त्यसरी हाँस्नु चाहिँ हुँदैनथ्यो’ भन्दै असन्तुष्ट हुँदै घर फर्कन्छन् । घर पुगेको केही बेर पछि पाल्मोको आमाको एक्कासि पेट कटक्क हुन थाल्छ र असह्य बनी उनी पेट समाउन थाल्छिन्, त्यो देखेर बाबा अस्पतालमा हतार गर्दै फोन गर्नतिर लाग्छन् । उनको फोन त उठ्छ तर चार पटकसम्म बिरामीको नाम उच्चारण गरी बुझाउन कोसिस गर्दा पनि उक्त कर्मचारीले बुझ्दै बुझ्दैनन् र उत्तरमा उल्टै हाँस्दै, माफ गर्नुहोला, तपाईंको अनौठो लवजको कारणले मैले तपाँईले भन्नुभएको केही पनि बुझ्न सकिन, म पछि सम्पर्क गर्छु भन्दै बुझ्ने प्रयास नै नगरी फोन राखिदिन्छन्, अनि बाबा दिक्क भएर ‘भयो अब तिमी पानी पिएर आराम गर केही बेरमा ठिक हुन्छ होला’ भनी पाल्मोकी आमालाई सम्झाउँछन् ।

बाबा अस्पताल नजाने अब ? भनी पाल्मो प्रश्न गर्छिन् उत्तरमा उनले ‘अब अस्पताल होइन भोलिबाटै समय मिलाएर स्तरीय तहको अङ्ग्रेजी भाषा सिक्न जाने हो छोरी’ भन्दै तत्कालै उनले साथीले दिएको सम्पर्क ठेगाना खोजेर भाषा प्राध्यापक तथा प्रशिक्षक मिस्टर स्टेभनसँग भोलिबाटै कक्षा लिन जाने पक्का गर्छन् । भोलिपल्ट काम पछि सिधै उनी भाषा सिक्न भनी जान्छन् र त्यहाँ पुग्दा प्रशिक्षक र अरू विभिन्न देशबाट बसाइसरि आएका मानिसहरू पनि अङ्ग्रेजी सिक्न भनी अघि नै आएर बसिरहेका हुन्छन् ।

उनलाई त्यहाँ देख्नासाथ स्टेभनले ‘हेलो, निहाओ, कोनीचेवा, बन्जोर, होला, अस्सलामुअलाइकम अनि नमस्ते’ भनी अभिवादन गर्दै अँगालो हाली न्यानो स्वागत गर्छन् । उनी धन्यवाद भन्दै प्रशिक्षकलाई आफू बोल्दा यहाँका मानिसहरूले नबुझ्ने र आफ्नो लवज सुनेर अनौठो मानी हाँस्ने गरेको दुखेसो पोख्दै अङ्ग्रेजी भाषामा निपुण बनाइदिन आग्रह गर्छन् । उनको कुरालाई मनन गर्दै स्टेभन भन्छन् ‘अङ्ग्रेजी मेरो मातृभाषा हो र मैले अङ्ग्रेजी लगायत अन्य धेरै भाषाहरु सिक्दै र पढाउँदै गरेको करिब ३० वर्ष भयो तर म अझै आफूलाई निपुण भने ठान्दिन, म हरेक नयाँ आगन्तुक, ठाउँ र परिस्थितिबाट नयाँ नयाँ भाषाहरू सिक्ने अवसर पाउँछु, भाषा सिकाइको निपुणता मापन गर्नु र पौडी खेलेर समुद्र पार गर्नु उस्तै हो जति बुझ्यो त्यति नै नयाँ र प्रचलित शब्द, स्थानीय शब्दावली र वाक्यांशहरू थाहा हुँदै जान्छन् ।

उनको अनुसार जो एउटा भाषामा मात्र सीमित रहन्छ र अरूको लवजमा अनौठो मानी हाँस्ने गर्छ ऊ अर्को नयाँ संसार, संस्कृति र दृष्टिकोणबाट पनि अनभिज्ञ नै हुन्छ । जसले अरूको भाषा र लवजलाई सकारात्मक रूपमा बुझ्ने कोसिस गर्दैन उसले आफ्नो भाषा र संस्कृतिलाई पनि सही ढङ्गमा बुझेको हुँदैन । त्यस्तै अरूको भाषा वा बोल्ने शैलीमा हाँस्नु भनेको उसको भाषा, संस्कृति र पहिचानको अपमान गर्नु हो भन्ने कुरा उनी स्पष्ट पार्ने कोसिस गर्दछन् । अझ जोड दिँदै उनी भन्छन् ‘बहु भाषी आफैमा एक अद्भुत विशेषता हो जसले विश्व दृष्टिकोण, फरक जीवनशैली र फरक संस्कृतिबारे बुझेको हुन्छ र भाषाहरू हामीले जीवनभर पनि सिकिरहन सक्छौँ, जसको लागि मनैदेखि चाहना, प्रतिबद्धता, विश्वास र सबै भाषालाई सम्मान दिन सक्नुपर्दछ’ ।

त्यसपछि कक्षाकोठामा त्यो दिन अङ्ग्रेजी भाषाको अभ्यास गर्दै सबै भाषालाई महत्त्व र सम्मान दिने विषयमा भएको गहन छलफलमा पाल्मोको बाबाले पनि सक्रिय रूपमा भाग लिन्छन् । भाषा बोलेर, लेखेर वा साङ्केतिक माध्यमबाट आफ्ना भावना र विचार व्यक्त गर्ने एक संरचित सञ्चार प्रणाली हो भन्ने मनन गर्दै प्रत्येक भाषाको महत्त्वपूर्ण विशेषता रहेको हुन्छ र त्यही अनुसार लवज पनि फरक हुने गर्दछ तथापि यसलाई मनैबाट सकारात्मक रूपमा बुझ्ने प्रयास गरे आशय उही बुझ्न सकिन्छ । त्यसैले अन्त्यमा सबै भाषाभाषीकाे सम्मान गरौँ र आफू पनि सम्मानित बनौँ ! भन्दै सबै जना खुसी हुँदै घर फर्कन्छन् । पाल्मोको बाबा पनि घर गई त्यो दिनको सबै कुरा उत्साहित हुँदै उनीहरूलाई बताउँछन् ।