आँपको बोटले काँक्रोको लहरोलाई जिस्क्याउँदै भन्यो, “ए काँक्रो भाइ, भुइँमै सुतेर जिन्दगी बिताउने विचार छ कि  कसो ?  आऊ यहाँ माथि, सँगै बसेर नजीकबाट आकाश हेरौं ।”

आँपको बोटको प्रस्ताव लहरोलाई मन पर्यो । ऊ खुशी  हुँदै आँपको बोटतिर लम्कियो र बोटमा बेरिंदै बेरिंदै उचाइमा पुग्यो । कहिल्यै नपुगेको त्यो विशाल उचाइमा पुग्दा  ऊ दङ्ग पर्यो । उसले आफ्ना जीवन अब त्यहीँ बिताउने निर्णय गर्यो ।समयसँगै लहरोमा फूलहरु लागे । विस्तारै फूल फक्रिएर चिचिला बने । ती चिचिला हुर्किंदै रूखमा झुन्डिन थाले । तर, झुन्डिएका ती साना फलहरूले त्यत्रो भीमकाय उचाइमा आफ्नै भार थेग्न सकेनन् र एकएक गर्दै भुइँमा बजारिन थाले । केही दिनमै सम्पूर्ण फल झरेर लहरो बुच्चो भयो । त्यसरी अनाहकमा आफ्ना सन्तान गुमाउनुको पीडा लहरोमा खपिनसक्नुको थियो । उसको विलाप देखेर आँपको बोटले उसको मन बहलाउने हिसाबले भन्यो ।

“तिम्लाई थाहा छ भाइ ? यो उचाइमा बसेर आकाशका तारा गन्न पनि सकिन्छ नि !”

लहरोले अधीर हुँदै भन्यो, “माफ गर्नुस् दाइ ! लहरोको अस्तित्व भुइँको उचाइ मै कायम हुने रहेछ ।