फोटो भाइरल भएपछि सन्दिपसरको मोबाइलमा आफन्त, साथीभाइ, सहकर्मीहरूको फोनको ओइरो लाग्यो । अनाहकमा चोरी र प्रदर्शनकारीको आरोप लागेपछि तनावमा परेका सन्दिपसरलाई फोनको घण्टीले थप टेन्शनमा पार्नु स्वभाविकै थियो ।

दोश्रो दिन । सुपर मार्केट लुटपाटको आरोपमा सन्दिपसरलाई पनि प्रहरीले घरैबाट नियन्त्रणमा लियो । उनले सफाइमा केही कुरा राख्न खोजे पनि उनको कुरा कसैले सुनेनन् ।

हिरासतमा पुगेका उनले अन्यले झैं सफाइको मौका पाए – “न म कुनै वाद विशेषको पछाडि लागेको मान्छे हुँ न म लूटपाटको घटनामा सामेल छु । म त घरमा सम्धी-सम्धीनी आउने भएकोले आवश्यक सामान किन्न मलमा छिरेको थिएँ । सामानको बील तिरेर बाहिर निस्कनै लाग्दा अचानक मानिसहरू मलमा छिरे । आँखा अगाडि जे जे भेटे सबै उठाउँदै भाग्न थाले । मेरो एउटा हातमा झोला र अर्को हातमा कोकको जम्बो बोतल थियो । म पनि आत्तिएको अवस्थामा लुटेराहरूसँगै मलबाट बाहिर निस्किएँ । पत्रकारहरूले बाहिर बसेर फोटो खिचिरहेका रहेछन्, त्यसैमा मेरो पनि फोटो आएको हो सर ।” उनले सबैकुरा एकै श्वासमा भनी सिध्याए ।

सन्दिपसरको कुरा उनीहरूले पत्याएनन् ।

“नचाँहिदो कुरा नगर्नोस् । तपाईंको कुरा हामी कसरी पत्याउने ?” नाइकेले पिटौंला झैं गरी उनीतिर हेरे अनि भने ।

“हजुरहरूले मलको सिसीटिभी फुटेज हेर्दा पनि हुन्छ ।” सन्दिपसरले जवाफमा भने । किन हो उनीहरू फुटेज हेर्न इच्छुक देखिएनन् । त्यतिनै बेला सन्दिपसरको छोरा दौडँदै भित्र छिर्य‍ो र एउटा कागजको टुक्रा बुबचाहिंको हातमा राखिदियो ।

त्यो मलमा सामान किनेको रसिद थियो । उनले त्यो कागज नाइकेको हातमा राखिदिँदै भने, “ल, यो हेर्नोस् । अब त पत्याउनु हुन्छ होला नि ?”
त्यो सानो कागज राम्ररी हेरेपछि नाइकेको मुखाकृति बिग्रियो । बील हेर्ने सबैजना जिल्ल परे । नाइकेले तत्काल सन्दिपसरक‍ो हातक‍ो हथकडी खोल्न आदेश दिए ।

अहिले भने सन्दिपसरको अनुहार उज्यालियो । उनी बाहिर आए । आरोपित व्यक्ति बाहिर आएको देखेर होला पत्रकारहरू क्यामेरा तेर्साउँदै उनी भएतिर दौडिए । प्रश्नको बौछार भयो । आफूलाई जनमानसमा निर्दोष साबित गर्ने राम्रो मौका यही हो भनी उनले प्रश्नको जवाफमा भने, “पहिला लुटेरा बनाइदिनु भो, अब निर्दोष साबित गरिदिनोस् ।”