सानी छँदा फुपू, काकीको जमघटमा कहिलेकाहीं सुन्ने गर्थें  ‘कमल हिलोमै फुल्छ’ भनेर जवाफ दिए रे त राजाले  ।

म दौडँदै आमा कहाँ पुग्छु र काखमा लुटपुटिंदै आमालाई सोध्छु, ‘आमा राजाले यसो किन भने,अनि कसलाई भनेका हुन् राजाले ?’

आमा मलाई थपक्क काखमा राख्नुहुन्छ, चपक्क अँगालो मार्नुहुन्छ र भन्नुहुन्छ, ‘लौ सुन म तिमीलाई राजा र कमलको कथा सुनाउँछु ।

एकादेशमा एउटा राजा थिए । उनी निकै दयालु थिए । शासन चलाउन निपुण  राजालाई कविता लेख्न र सुन्न औधी मन पर्थ्यो । उनी त्यस्तै कविता लेख्नेलाई जम्मा पार्थे र बेलाबेलामा कवि सम्मेलन गर्थे । राजा भएर पनि उनमा पटक्कै घमण्ड थिएन र उनी आफ्ना जनताहरूसँग मित्रवत व्यवहार गर्थे ।  उनका एक प्रिय जनता थिए जो साह्रै राम्रो कविता लेख्थे ।  उनको कोमल भाव, लेख्ने बानी र उनको शिष्ट नम्र स्वभावले गर्दा राजाले उनलाई औधी मन पराउँथे र कवि सम्मेलनहरूमा उनलाई कहिले छुटाउन्न थिए ।  राजासँगको उनको यो हिमचिमले केहीलाई भने जलन हुन्थ्यो र उनको कमजोरी खोज्नमा लाग्थे । राजाका प्रिय ती कवि मध्यम वर्गीय परिवारका एक शालीन पुत्र थिए ।  पढ्न लेख्न र चिन्तनमा निपुण उनको त्यतिवेलाको एउटा अर्को बानी थियो त्यो हो मद्यपान गर्ने । एकदिन यस्तै कवि सम्मेलनमा जाँदा उनको मद्यपान पछिको बेहोसीलाई देखाउँदै सँगै जाने एक कविले राजालाई भनेछन्, ‘सरकार हेरिबक्स्योस् हजुरको प्रिय कवि बेहोसीमा छन् ।’ जवाफमा राजाले मुसुक्क हाँस्दै भनेछन्, ‘कमल हिलोमा नै फुल्छ मित्र ।’

आमा मलाई काखबाट उठाउँदै भन्नुहुन्छ,  ‘अनि बुझ्यौ  आजसम्म पनि तिम्री फुपूले काकीसँग त्यही भन्दै हुनुहुन्छ जे राजाले भने ।’ कथाबाट मैले आफ्नो

प्रश्नको जवाफ पाएको भान हुन्न र पुनः  प्रश्न गर्छु, ‘आमा राजाले यसो किन भने, अनि कसलाई भनेका हुन राजाले ?’

मेरो प्रतिप्रश्नमा आमा केहिवेर मौन रहिदिनु हुन्छ र एकछिनको मौनतालाई तोड्दै वहाँ मलाई भन्नुहुन्छ, ‘नानू ! अहिले सुत किनकि रात धेरै छिप्पिइसक्यो ।  अब त्यसको अर्थ तिमीलाई भोलि छ्याङ्ग उज्यालो भएपछि समयले बुझाउँछ जब त्यो आउँछ । मेरो मानसपटलमा आमाको त्यो समय एक्कैछिनको मौनता अनगिन्ती रात छिप्पिंदा सम्म पनि घुमिरह्यो । त्यो समयलाई यो आँखाले पर्खिरह्यो अनि मेरी फुपूले काकीलाई दिएको जवाफको अर्थ यो खोपडीमा वर्षौंसम्म पौडिरह्यो । बिस्तारै बिस्तारै उमेर र अध्ययनले मलाई यसको परिभाषा बुझाए पनि त्यो केवल एक सतही मात्र रह्यो ।

आज वर्षौंपछि मेरी छोरीले मलाई एउटा भिन्न  प्रश्न गरिन्, ‘आमा ! ॐ मणि पद्मे हुँ  भनेको के हो ?’  मैले छोरीको शिरलाई काखमा राखें, आँखा छोपिने गरी बढेका उसका घुमाउरा कपालमा हात लग्दै अनुहारलाई सिनित्त मुसारें र आफूलाई आफ्नै आमाको काखमा लगेको  स्मरण गर्दै भनें, ‘ल सुन नानू ! म तिमीलाई आज एउटा  राजकुमार र कमलको कथा सुनाउँछु ।’

एकादेशमा एउटा राजा थिए । उनका एक मात्र छोरा थिए । राजकुमारलाई कुशल राजा बनाएर राजगद्दी सुम्पने पिता राजाको ठूलो इच्छा थियो । तर राजकुमार भने जवानीमै जीवनदेखि बिरक्तिएर मध्यरातमा घरबाट सत्यको खोजीमा निस्केका थिए । ६ वर्षको कठोर साधना पश्चात् राजकुमारबाट भिक्षु बनेका उनलाई बोध भयो कि संसार दुःखै दुःखले भरिएको एउटा पोखरी हो ।  एउटा यस्तो पोखरी जहाँ फोहोर हिलोले निकासा पाउन्न अनि सफा पानीको स्रोत हुन्न । मैलो हिलो दुर्गन्धित पानी जहाँ सर्प जस्ता विषालु,  भ्यागुतो जस्ता अबुझ जीवहरू हुन्छन् ।  असंख्य किट पतङ्गहरू एकआपसमा लडिरहेका हुन्छन्, एकले अर्कोलाई डसिरहेका हुन्छन् । त्यस्तो दुख कस्ट, फोहोर हिलोमा रहेरै जब आफूभित्र नियाल्न, खोज्न थालिन्छ तब एउटा बीज अंकुराउँछ, फक्रन्छ अनि फुल्छ र निर्मल स्वच्छ सुन्दर अनि अमूल्य कमल भएर प्रस्फुटित हुन्छ । त्यसपछि अनायास यस्तो वचन निस्कन्छ ‘ॐ मणी पद्मे हुूँ’ जसको अर्थ हुन्छ – म कमल जस्तै सफा स्वच्छ सुन्दर र अमूल्य छु । त्यो कमल जसको जरादेखि पात पत्रपत्र सम्म गुणकारी हुन्छ ।

छोरीको प्रश्नको जवाफमा जब म घोत्लिएँ तब मलाई बोध भयो मेरी आमाको कथा, राजाको जवाफ, अनि फुपू काकीको कुराकानी । यथार्थमा जीवनमा जब मान्छे अन्योलमा भौतारिंदा चारैतिरबाट हताश हुन्छ, एक्लो हुन्छ, निकासा हुन्न, फोहोर, दुर्गन्ध, रीस, राग, ईर्ष्या गर्नेहरूको भीडमा जब उभिन पुग्छ त्यतिवेला आफैभित्र दर्शन गरी बारम्बार यो मन्त्र दोहोर्‍याएर कमलको बीज अंकुराउँदो रहेछ  । कमल भएर फक्रनु छ भने यो सब झेल्नुपर्छ र भन्न सक्नुपर्छ ॐ मणि पद्मे हुँ ।