“मैले यस्तो रूप र चरित्रको त कल्पना पनि गरेको थिइन । कसरी यति धेरै कुरूप र विरूप भए मान्छेहरू ?”
पृथ्वीलोक निवासी मान्छेहरूको बदलिँदो रूप र चरित्र देखेर ब्रह्माजी अचम्मित हुँदै नारदजीलाई बोलाएर तुरुन्तै आदेश दिए- “हे , नारद ! भूलोक गएर एउटा यस्तो मान्छेलाई खोजेर लिएर आऊ जो स्वार्थी, बैगुनी, धूर्त ,जाली, फटाहा, कुटिल केही नभएको होस् ।”
– “हस् प्रभु !”
आज्ञा शिरोपर गर्दै नारदमुनि पृथ्वी लोक हानिए । चारैतिर चाहारे । हरिद्वार गए, वृन्दावन गए , पशुपति गए । अड्डा, अखडा , मन्त्रालय , न्यायालय सबैतिर धाए । जताततै धूर्त, चोर, फटाहा मात्र भेटे । प्रत्येक मनुवाको मन, मुटु र नाडी छामे। सबै बैगुनी, स्वार्थी र कठोर मात्र देखे ।
एउटा पनि गुण भएको मान्छे भेट्न सकेनन् र निराश भएर पृथ्वी लोकबाट फर्किए ।
ब्रह्माजीले नारद मुनिलाई निराश देखेर सोधे – “खै त नारद, मान्छे ?”
– “कोही छैन प्रभु ! हजुरले बनाउनु भएको मान्छेमा त खोटै खोट मात्र रहेछ एउटै पनि गुण रहेन छ !”
नारद मुनिले पृथ्वी लोकबाट बोकेर लगेको मानव रुपी एउटा आकृति अगाडि सार्दै भने – “ल लिनुस् यो यन्त्र मानव। मान्छेले बनाएको यो मान्छे भित्र ती बैगुनहरू छैनन् प्रभु !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।