“ओ भाइ नयाँ हो ?” एकजनाले भनेको सुनेर उतै तिर फर्क्यो हरि ।
हरिका आँखा रोएर थाकेका थिए । चिसो बढेको थियो ।
“त्यहाँ नबस् भाइ जाडोले मर्लास् । आइज मेरो बोरामा पस् ।” अघिकोले आग्रह गर्यो । नयाँ ठाउँमा एक वचन बोले पनि आफन्त हुने रहेछ । आज्ञाकारी भएर उसैको छेउमा गयो । बोराभित्र पसेपछि न्यानो महसुस गर्यो ।
“के खाइस् भाइ ?” उसले सोध्यो ।
“समसा खाएको पैसा सकियो ।” हरिले भन्यो ।
“ल आजलाई भएछ । अब सुत् भाइ ।” उसले भन्यो ।
मन्दिर छेउको खुला पाटीमा नचिनेको केटो पनि हरिको अभिभावक बनेको थियो ।
“कहाँ बाट आइस् ?”
“मामुसँग रिसाएर बसमा चढेको । बसले यहाँ ल्याइदियो ।” हरिले भन्यो ।”
“घर कहाँ हो र ?”
“दमौली ।”
उनीहरू कुरा गर्दै थिए अर्का दुईजना आएर कराउन थाले “ओइ उठ् । मेरो सुत्ने ठाउँमा सुत्छ्स् ?” उनीहरू उठेर आफ्नो बोरा समातेर पर गए ।
“यता नआइजा है फेरि खालास् ।” अर्को कुनामा सुतेकोले भन्यो । उनीहरू पाटीबाट बाहिर सडक पेटीमा आए
। “अब आज चिसो हुने भयो भाइ ।” भन्दै सडक पेटीमा बोरा मिलाउन थाल्यो ।
“उनीहरू सधैं यस्तै हुन दाइ ?” हरिले सोध्यो ।
“पख् न अहिले कमाण्डोको ग्याङ आए पछि सबै भाग्छन् सालेहरू ।” उसले भन्यो ।
“भाइ दमौली गए पछि घर जान सक्छ्स् ?” उसले सोध्यो ।
“सक्छु दाइ ।” आँखाबाट आँसु खसाल्दै हरिले भन्यो ।
“ल ठिक छ म भोलि दमौली जाने गाडीमा चढाइदिन्छु । जाडो भयो भने भन है अलिकति यो खानु पर्छ ।” भन्दै यौटा बोत्तल देखायो । हरिले केही बोलेन । टाढाबाट कमाण्डो ग्याङ कराएको सुनियो ।
हरि डरले काँप्न थाल्यो ।
“किन डराइस् ? हामीहरूलाई केही हुन्न । उतै तिरबाट आएका छन् यता आउँदैनन् ।” उसले आश्वासन दियो ।
“दाइ तपाईं पनि घर जानु भोलि ।” हरिले भन्यो ।
“घर भए पो जानु भाइ । हाम्रो डेरा भएको ठाउँमा त अहिले डोजर छ ।” डेरा भत्किएपछि हराएका बा आमा सम्झँदै उसले भन्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 









