महायज्ञका क्रममा कथावाचन र भजन कीर्तन पालैपालो चलिरहेको थियो ।

`दानीलाई हुँदैन हानि´

`दान गर्नुस्, पुण्य कमाउनुहोस्´

प्रवचन गर्दैगर्दा बिचबिचमा पण्डितजीले भक्तहरूलाई दानप्रेरितको भाषा पनि बोलिरहन्थे ।

कथा सुन्नेले एकचित्त लगाएर कथा सुने ।

कसैले भाका मिलाएर भजन गाए ।

कोही नाच्न जुर्मुराए ।

थोरै पैसा हुनेले दानपेटिकामा पैसा घुसारे ।

कतिपयले पितृउद्धारका नाममा उतिखेरै दान दिए ।

केहीले संस्थाको आर्थिक उन्नति होस् भनेर गोजी टक्टक्याउँदै दान चुक्ता गरे ।

तत्कालै पैसा नहुनेहरूले उधारो दान बोले ।

कतिले ‘आफूसँग भएको यति नै हो’ भनेर पछि भुक्तान गर्ने सम्झौतामा आंशिक दान गरे ।

यज्ञ समापनपश्चात् उठेका र उठ्न बाँकी पैसाको हिसाब गरेर पण्डितले प्रतिशत निकाले । आफ्नो भागको पैसाको चेक काटिमागे । टेन्ट, भजन टोली, वाद्यवादन समूह, गेट निर्माण, ध्वजा पताका आदि इत्यादिका पैसा तुरुन्तातुरुन्तै बुझाउँदा लगभग लगभग `हाता लाग्यो शून्य´ को अवस्था आयो अनि समितिको आकस्मिक व‌ैठक बसी उठ्न बाँकी दान र नयाँ दान सङ्कलनका लागि अर्को वर्ष पनि महायज्ञ लगाउने निर्णय भयो ।