ऊ धेरै दिनदेखि बिमारी पर्यो । औषधीमूलो गर्दागर्दै आफूसँग भएको सबै रकम सक्यो । अब ऊसँग केवल बसिरहेको छाप्रोको एक चपरी माटो मात्र रह्यो ।

उसले उपचार खर्चको लागि सबैभन्दा पहिला आफन्तसँग हात फैलायो । क्रमशः चिनेजानेका साथीभाइ र गाउँका नामी महाजनहरूसँग ।

सबैको एउटै उत्तर आउँथ्यो– तिमीले त्यत्रा पैसा लिएर कसरी तिर्न सक्छौ र ? तिमीसँग केही आधार नै छैन । तिमीजस्तो कङ्गाललाई कसरी पत्याउने ? उसको केही सीप चलेन र उपचार खर्च जुटाउन नसकेर मर्यो ।

घाटमा सबैजना भेला भए । आफन्तजन, चिनेजानेका साथीभाइ, गाउँका महाजनहरू… ।

सबैजना लासलाई हेर्दै भन्न थाले– कठै ! कति असल थियो । मर्नै नहुने मान्छे थियो, अकालमै मर्यो विचरा !