माधबी र मंगलेले भागेर बिहे गर्ने सल्लाह गरे । यो माधबीको नै सुझाव भएकोले मंगलेले नाइँनास्ति गरेन । तर आफ्नै मालिककी छोरी, त्यो पनि तथाकथित माथ्लो जातकी । साह्रै डरायो मंगले । उसलाई थाहा छ यदि ऊ पक्रियो भने उसको छाला काढ्छन् भनेर । त्यसैले उसले साथी सुगमको सहायता माग्यो ।
मित्रको याचना सुनेर सुगमले टाल्न सकेन, ‘हुन्छ म भगाउँछु माधबीलाई भरे राती । तँ घरमै भएपछि शंका गर्ने कुरै भएन । केही दिनपछि तँ कुनै बहाना बनाएर काठमाडौं आइज । अनि तिमीहरूको मिलन भै हाल्छ ।’
माधबी अघिल्लो रातीदेखि हराएको कुराले बिहानैदेखि घरमा हलचल मच्चियो । मंगले केही चाल नपाए झैँ आफ्नो दैनिक काममा लागिरह्यो । उसलाई पनि सोधपुछ गरे । आफूलाई कुनै जानकारी नभएको बतायो । खोज तलास भयो ।
बेलुकी माधबी र सुबोध काठमाडौं पुगेको खबरले मंगले ढुक्क भयो ।
अब ऊ पनि काठमाडौंतिर लाग्ने तयारी गर्न थाल्यो । दिउँसो ऊ बाहिर आँगनमा भैँसीको लागि भुस्सा बनाउँदै थियो । माधबीको बाबु पिँढीमा बसेर तमाखु ट्वारट्वार पार्दै थिए । बुढाले नजिकै बसेर तरकारी केलाइराखेकी श्रीमतीतिर हेर्दै भने, ‘मेहनती र भरपर्दो मंगले आफ्नै छोराजस्तो लाग्छ । यस्तो असल केटा कहाँ पाइन्छ आजकलको जमानामा ? अब हाम्रो छोरा पनि छैनन्, यसैलाई ज्वाइँ बनाएर राखौँला भन्ने सोच थियो । के गर्ने कहाँको त्यो भँडुवासँग भागिछ । धन्न तेरो भाइले देखेछ । अब भोली नै गएर दुबैलाई पाता कसेर लेराउनु भनेको छु ।’
बुढाको कुरामा सही थप्दै बुढी बोलिन्, ‘त्यही त मैले त मंगलेको बौआमासँग आफै कुरा गरुम्ला भन्ने सोचेको थिएँ । अब अर्कासँग भागेकी छोरी फिर्ता लेराएर यसलाई भिडाउने कुरा पनि आएन । बरु उतै भाइकै सालोको छोरा धुर्बेसँग लगनगाँठो बाँधिदिनु भनेको छु मैले ।’
यो वार्तालाप सुनिरहेको मंगले चुप बस्न सकेन । आफूले आफ्नो मालिक र मालिक्नीलाई चिन्न नसकेकोमा उसलाई ग्लानि भयो । कुरो झन् बिग्रने देखेर उसले सबै योजना बतायो ।
उसको कुरा सुनिसकेपछि बुढाले आफ्नो सालोलाई फोन गरेर भने, ‘ए बाबु, ल हाम्रो नाटकले काम गर्यो । यो सबै मंगलेकै योजना रहेछ । यो डाँकालाई हामी ठिक गर्छौं तिमी त्यताको सम्हाल ।’
फ्लोरिडा, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।