छोरो डाइनिङ टेबुल छेउको एउटा कुर्सीमा बसेर मोबाइलमा टिकटक भिडियोहरू हेर्दै मनोरञ्जन लिइरहेको थियो । उसको स्क्रिनमा फेसबुक म्यासेन्जरबाट आएको एउटा म्यासेज नोटिफिकेसन देखियो ।

“बाबु, अब खाना खाऊँ है ?”

म्यासेज उसको मम्मीको थियो ।

“एकैछिन पख्नुस् न । एउटा म्यासेज मेरो क्लासमेटलाई पठाइहाल्नु पर्नेछ ।”

छोरोको मोबाइलबाट रिप्लाई सेन्ड हुनासाथ टिक्लिंग गरेर मम्मीको मोबाइलमा म्यासेज नोटिफिकेसनको सिग्नल आवाज बज्यो । मम्मी पनि टेबुल छेउकै अर्को कुर्सीमा बसेर आफ्नो मोबाइलमा बिजी हुनुहुन्थ्यो । फेरि, मम्मीले बाबालाई म्यासेज पठाउनु भयो ।

“अब खाना खाने होइन ?”

नजिकैको अर्को कुर्सीमा बसेर फेसबुक सर्फिङ गरिरहेको बाबाको मोबाइलमा टिक्लिंग गरेर नोटिफिकेसनको ध्वनि गुञ्जियो ।

“हुन्छ, पस्क न त ।”

मम्मीको मोबाइलमा फेरि म्यासेज आयो ।

“लौ, अब छिटो खाऔं । मलाई पनि आज चाँडै बाहिर निस्किनु छ, रेडी हो ?”

फेरि छोरोको मोबाइल स्क्रिनमा नोटिफिकेसन बज्यो ।  मम्मीको म्यासेज थियो ।

“ओके । आइम रेडी ।”

छोरोको उत्तर पाएपछि मम्मीले खाना पस्केर तीनै जनालाई भाग लगाउनु भयो  ।

त्यस पछि तीनै जना एक हातले मोबाइल समातेर अर्को हातले चम्चाले खाना खानतिर लागे  । तीनै जनाको आँखामा मोबाइल स्क्रिनबाट निस्किएको नीलो प्रकाश टल्किरहेको थियो ।