अबिनास गर्भमा थियो गोपाल विदेश जाँदा । मनग्गे तनखाको लोभमा खाइपाइआएको सेक्यूरिटी गार्डको नोकरी छोडी गोपाल दुबई हान्नियो । श्रीमती कमला मानेकै थिइन । ‘केही बर्ष दुबइमा काम गर्न देऊ, म तिमीलाई महलकी रानी बनाएर राख्छु ।’ फकायो गोपालले ।

दुबई गएको अर्को साल छोरा अविनासको जन्म भयो । कमलाले छोरा जन्मेको समाचार पठाउँदै न्वारान गर्न आउन भनी । तर ऊ आएन ।

दिनहरु बित्दै गए ।

एक दिनको कुरा हो, रातको समयमा अबिनासलाई हनहनी ज्वरो आयो । कमलाले छोरालाई अस्पताल लैजान पल्लो कोठामा बस्ने युवक झपिन्द्रको सहयोग मागी । झपिन्द्रले आनाकानी गरेन । उसले मोटरसाइकलमा राखेर अबिनासलाई अस्पताल लगिदियो ।

त्यो रातदेखि कमला र झपिन्द्रको सामिप्यता बढ्दै गयो । यस्तैमा एक साँझ कमलाले झपिन्द्रलाई आफ्नोमा खाना खान आउने निम्तो दिई । त्यो रात अबेरसम्म झपिन्द्र कमलाकै कोठामा रह्यो । अबिनास निदाइसकेको थियो । कमला र झपिन्द्र आलिङ्गनमा बाँधिए । केही बेरमा यौवनको उत्तेजक बाँध भत्कियो । छताछुल्ल भएर पोखियो ।

त्यस दिनबाट कमला र झपिन्द्रको प्रेम थप कसिलो हुँदै गयो ।

दुबई गएको पाँच वर्षपछि गोपाल बल्लतल्ल नेपाल फर्कियो । उसले प्लेनबाट उत्रनासाथ कमलालार्ई आफू काठमाण्डु ओर्लेको जनाउ दियो ।

ऊ एअरपोर्टबाट डेरामा पुग्यो । तर ऊ पुग्दा कमला डेरामा थिइन । कोठाभित्र एउटा बच्चा रोइरहेको थियो । डेराभित्र गोपालका आँखा एउटा लिखतमाथि परे । ‘जाडोमा नपाएको ताप र बैँसमा नपाएको साथको के अर्थ । अब म तिम्री रहिनँ । तिम्रो छोरा तिम्रै जिम्मामा छोडेकी छु । त्यसको उचित लालनपालन गरे । वाईवाई गोपाल !’ कागजमा यस्तो लेखिएको थियो ।

गोपाल एकाएक छाँगाबाट खसेजस्तो भयो । उसले रोइरहेको बच्चालाई उठाएर काखमा लियो । बच्चा उसको आफ्नै छोरा अबिनास थियो । अबिनास पटकपटक रुँदै भनिरहेको थियो ‘मम्मी खै…. !’