“हैन, हाकिमसाब गाडी के भो र ? हिँड्दै पो आउनु भा छ त ?”, लुखुरलुखुर हिँड्दै आएको देखेर शेखरनाथले गोपालमानलाई प्रश्न गरे।
“दुईचार मिनेटको बाटोलाई के गाडी चढिराख्नु भनेर नि।आखिर इन्धनको यस्तो भयावह अवस्था छ। केही त वचत होस् ।फेरि अलिकति हिँड्दा स्वास्थ्यलाई पनि त फाइदै छ।” गोपालमानले सहज जवाफ दिए।
“कार्यालय प्रमुखको बैठकमा आउँदा पनि गाडी नचढ्नू ? राज्यको सम्पत्ति जोगाइदिएको होला नि। पदक नै पो पाउलान् जस्तो छ हाकिमसाबले।” रविन्द्रले व्यङ्ग ठोके।
अर्को दिन मर्निङ् वाकमा गोपालमानको जम्का भेट भो रविन्द्रसँग।असिन पसिन भएर कुदिरहेका थिए उनी।
“अफिसको मिटिङमा दुईचार मिनेटको बाटोबिना गाडी नहिँड्ने हाकिमसाब, यो के मरिहत्ते गरेको नि ?” गोपालमानले प्रश्न तेर्साए।
“हैन, अलि अलि त स्वास्थ्यको पनि त ख्याल गर्नु पर्यो। कति कुँजिएर मात्र बस्ने ? कार्यालयको बैठकमा जाँदा त राज्यले दिएको सुविधा उपभोग गर्नै पर्यो नि। दुनियाँले कति झ्वाम्म पारेका छन् ? कसैको चासो छैन । हामीले मात्र जोगाएर के नै पो जोगिन्छ र ?” जवाफसँगै रविन्द्रले रफ्तार बढाए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।