
“साँझ चौराहामा कुरेपछि रोजीछानी पाइहालिन्छ नि । अझ बार्गेनिङ गरे सस्तैमा परिन्छ ।” नारायणले भन्यो ।
“हुन्न त्यसरी । सीट राम्रो पाइएन भने त्यत्रो लामो यात्रामा दुःख पाइन्छ ।” रमेशले सम्झाउँदै भन्यो ।
“अनलाइन टिकट अलि महँगो पर्छ । चौराहामा बसेर बार्गेनिङ गर्न पाए भात खाने पैसो बच्ने थियो भनेर पो ।” नारायणले आफ्नो विचार पुनः दोहोर्यायो ।
“जाडो महिना छ । एसी बसमा ब्लाङ्केट पनि पाइन्छ । ओढेर, मजाले निदाएर जाने नि । किन दुःख पाउनु ?” रमेशले अडान छोडेन ।
अनलाइन टिकट काटेको बस चौराहामा आइपुग्यो । दुवैजना सँगै सीटमा बसे । बस न्यानो थियो । दुवैले सीटमा भएको ब्लाङ्केट ओढे ।
“अङ्कल यति साह्रो त नढाल्नु न सीट । यता घुँडा ठोकियो ।” अघिल्लो सीटवालालाई रमेशले अनुरोध गर्यो ।
“यसरी सीट ढालेर, मजाले सुतेर जान त यत्रो पैसो हालेर टिकट काटेको नि । तिमी पनि ढाल न त पछाडि ।” कर्कश शैलीमा पड्किए उनी ।
उबडखाबड बाटोमा बस बेढङ्गले गुडिरह्यो । बीचबीचमा नराम्ररी घुँडा अगाडिको सीटमा ठोक्किरहे । उनीहरूले निदाउने चेष्टा गरे । झुपुक्क निदाउन खोजेको बेला अगाडिका वुजुर्ग बाघ जस्तै घुरेर सुत्नै दिएनन् ।
काठमाडौं बसपार्क पुग्दा उनीहरूलाई लिन विकल आइसकेको थियो ।
विकललाई देख्ने बित्तिकै नारायण खित्का छोडेर हाँस्यो ।
“हैन किन हाँसेको यसरी ?” आश्चर्य मान्दै सोध्यो विकलले ।
“घुरानन्द बुढासँग मज्जाले सुतेर आयो रमेश । आफूलाई त निद्रै परेन ।” उल्याउने भावमा जबाफ दियो नारायणले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

