करिब आठ वर्षको अदालती प्रक्रियाबाट पारपाचुकेको कागज लिएर निस्कँदै गरेकी सिमा एकदमै प्रफुल्ल थिई । उसले सन्देशसँग बीस लाख रुपियाँ र बुटवलको एउटा घडेरी पनि पाउने भएकी थिई ।
सन्देश अदालत बाहिर एउटा ठेलाको छेउमा झोक्राएर बसेको थियो । उसको बिहे भएको बाह्र वर्ष भएको थियो । छोरा शरदको जन्म भएपछि उनीहरूको बीचमा खटपट सुरु भएको थियो ।
पतिको छेउमै गएर बसी सिमा । एकछिन पछि सन्देशले दुई गिलास लस्सी मगायो । सिमालाई लस्सी औधी मन पर्थ्यो । सिमाले इन्कारी गरिन् ।
सिमाले सोधी, “औषधी ठिक समयमा लिइरहनु भएको छ नि ?”
एक छिन मौनता छायो । सन्देशले केही भन्नै सकेन । उसको बोली फुटेन ।
सिमाले फेरी सोधी, “औषधीहरू त लिनु हुन्छ नि ?” सन्देशले लिने सङ्केतमा टाउको हल्लायो । ऊ ज्यादै दुब्लाएको थियो । जिन्दगी देखि टाढा पुगेको जस्तो । अनुहारमा कुनै कान्ति थिएन ।
ठेलावालाले दुवैलाई लस्सी दियो । एक सुर्को सुरुप्प पार्दै सन्देशले भन्यो, “शरदको राम्रो ख्याल गर्नु है । उसका आँखामा कहिल्यै आँसु आउन नदिनु … … ।” उसको बोली रोकियो ऊ बोल्नै सकेन ।
सिमाले सोधी “कस्तो छ र हजुरको स्वास्थ्य स्थिति ?”
“कस्तो हुनु र डाक्टरले छ महिनाको समय दिएको छ । किमु लगाउँदा लगाउँदा थकित भइसकेँ । मलाई त त्यही छ महिना पनि लामो लागेको छ । तिमीलाई दिने नगद बीस लाख पनि छैन । त्यसको सट्टामा म बसेको घर नै तिम्रो नाममा पास गरिदिन्छु जसको कारण शरदको पढाइ पनि सहज होला । बुटवलको घडेरी त दिनु छँदै छ । काठमाडौँको घडेरी पनि पास गरिदिन्छु अब मलाई किन चाहियो र ?” सन्देशले एकै सासमा भन्यो । मानौं ठूलो भारी बिसायो ।
सिमाका आँखा रसाए । जुन सम्पत्तिका लागि अदालतमा आठ वर्ष धाई । आज त्यसको कुनै मूल्य भएन । उसले आफूले गरेको काममा पश्चात्ताप मानिरहेकी थिई ।
सन्देशले भन्यो, “जीवनमा सबै भोगिसकेँ, कम्तीमा जीवनका अन्तिम छ महिना आफन्तसँग बस्न पाए जीवन सार्थक हुन्थ्यो कि ?”
सिमाले सन्देशलाई अँगालो हालेर घुँक्कघुँक्क गर्न थाली । मानौँ वर्षौं बिछोडिएका प्रेमिल जोडीको भेट आज भएको छ ।
छुट्टिने बेलामा अदालतको कागज टुक्राटुक्रा पार्दै भनी, “जाऔं अब हाम्रो सुन्दर संसारमा…।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।