मित्र ‘उराठी’ गौतम

“हाम्रो पार्टीको प्रमुखबाट पार्टीको घोषणा पत्र सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु।”- उद्घोषकले उद्घोषण गर्यो।

“अरू पार्टीले जस्तो हाम्रो पार्टीले निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य सेवा, गाउँ गाउँ कालोपत्रे सडक, स्वच्छ पिउने पानी, वृद्ध भत्तामा बढोत्तरी आदि जस्ता हावादारी गफ गर्दैन।” – प्रमुखले आफ्ना भनाइ राख्दै थिए।

एकजनाले बीचैमा प्वाक्क प्रश्न तेर्सायो – “यी कुरा त आधारभूत आवश्यक्ता हुन् त नेता ज्यू ,कसरी हावादारी भए ?”

“हो यही त जनताको कमजोरी हो।अझै जनताको बुझाइको स्तर माथि उठ्न सकेको छैन र त ठग्छन् अरू दलहरूले।” – प्रमुखले जवाफ दिए।

“अनि सत्य कुरा के हो त ?” – अर्कोले जिज्ञासा राख्यो।

“यही सत्य कुरा त हाम्रो घोषणा पत्रमा छ। जनताका आधारभूत आवश्यक्ता पूरा गर्न त पहिले भरपुर र दीगो स्रोतको आवश्यक्ता पर्छ नि।’विना धन केही नभन’ भने जस्तै विना धन कसरी विकास गर्न सकिन्छ ? कसरी जनताका आधारभूत आवश्यक्ता पूरा गर्न सकिन्छ ? कुराको चुरो नै यहीँ छ। हाम्रो पार्टीले चुनाव जितेर सरकार बनाउन पायौँ भने, हामीले वैदेशिक ऋण लिएर भए पनि सर्व प्रथम तराईदेखि सगरमाथासम्म केवुल कार चलाउँछौँ “, प्रमुखले चुरो कुरो खोले।

उपस्थित समुदाय जिज्ञासु भावमा ट्वाल्ल परे।

प्रमुखले अझ कड्कँदै व्याख्या गरे – “जब हामी राष्ट्रिय गौरवको सगरमाथा केवुल कार निर्माण गर्छौं तब विदेशी पर्यटकको घुइँचो थामी नसक्नु हुने छ । त्यसपछि त देशमा पैसो फल्छ।आम्दानीको दीगो स्रोत जुटेपछि विकास भटाभट भै हाल्छ । अनि त हाम्रो देश सिङ्गापुर, स्विजरल्याण्ड हैन संसारकै उत्कृष्ट बन्छ । सानातिना कुरामा अल्झन्न हाम्रो पार्टी । हामीसँग स्पष्ट भिजन छ । तसर्थ तपाईंहरू भ्रममा नपर्नुस् यस पटक भोट हामीलाई दिनुस् ।”