बलबहादुर थापा मगर

कुखुराको भाले बासेर उज्यालोको संकेत दियो । गाँउका महिलाहरु लोहोटा बोकेर पाखोतिर लागे । रातभर आफ्ना लोग्नेहरुसँग भएका श्रृंगारिक कार्यको गफ गर्दै गन्तव्यमा पुगे । सबैजना गफिँदै शौच गरे । र घर फर्किए ।

महिलाहरुको जमात फर्किएपछि पुरुषहरु त्यसै गरी लोहोटा बोकेर पाखोतिर हान्निए । अश्लिल गफहरु ठोक्दै शौच गर्न थाले ।

त्यही बखत एक बिरालो उनीहरुको नजिकै आइपुग्यो । र जमिन खोस्रिन थाल्यो । सबैजना श्वास रोकेर हेर्न थाले । उसले खोस्रिएको ठाँउमा बिष्ट्याएर शरीर हलुका गर्यो । माटोले पुरिदियो । र लुरुलुरु आफ्नो बाटो लाग्यो ।