खुला आकाश सफा निलो छ । झुल्केदेखि झलमल घाम स्वच्छ वातावरण लाग्छ । सिङ्गै धर्ती हाँसेको छ । यति खुलेको गगन बाधा न व्यवधान । सोनिका भर्खर घरधन्दा सकेर नुहाउन थाली ।

आफ्नो आँगन कटेर केही पाइला अघि बढ्दैछ । कताबाट हो खुजेली आई । भनौँ त्यहीँ बाटो वरवर सर्दै ।
सायद घाम छल्न छाता ओढेकी हुँदी हो ।

जम्का भेट भयो । अप्रत्याशित रूपमा खुजेलीले भनी, छ्या कस्तो रूप भएर हिँडेकी सोनिका,खुला कपाल बोक्सीजस्तो थङरङ्ग जगल्टा पारेर …।

थाहा छैन सोनिकालाई बोक्सी भनेको के हो ?

ती जातका मानिस कहाँ बस्छन् । कस्ता हुन्छन् । एउटा कुरा मान्छे भने अर्का कुरा कुन सन्दर्भ मान्छे कहाँ हिँडेको छ । सुख दु;ख हाँसो रोदन स्वयंकै भित्र छ । राप ताप अनि चाप कसैको व्यक्तिगत जीवनलाई खलबल पुर्‍याउने खुजेलीको नियत देखेर सोनिका चकित भइन् । पहिला के भन्ने भनेर जवाफ फर्काउन भेउ नै पाइनन् । अनि उपियाँ फड्के जस्तो गरी खुजेली पनि त्यहाँ पुगी पत्तो भएन । सम्झदा कुरा सामान्य भए पनि यस्तो गाली बेइज्जती झन् सम्झ्यो झन गाह्रो । सोनिका चुप लागेर बस्न नसक्ने भई । गाली बेइज्जती हेर्ने संस्था कहाँ होला भनेर खोज तलास गर्दा प्रहरी महिला सेल झट्ट दिमागमा आयो ।

खुजेलीलाई विपक्षी बनाएर सोनिकाले दिएको उजुरीपत्रलाई आधार बनाएर सबै संघ संस्था जागे । खुजेलीको परिवारसमेतलाई समाजले बस्न नसक्ने बनायो ।