मित्र ‘उराठी’ गौतम

“सर यसरी त भएन नि । विद्यार्थीको परीक्षा आइसक्यो । कोरोनाको कारण विद्यालय बन्द हुँदा कोर्स धेरै बाँकी छ । विद्यार्थीले कसरी पास गर्छन् ? विद्यार्थीप्रतिको दायित्वबोध गर्नु पर्यो नि ।” – राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमकान्तले निलमणि सरलाई सम्झाउँदै भने ।

“सरले धेरै सिकाउनु पर्दैन । मेरो जिम्मेवारी के हो ? मलाई राम्ररी थाहा छ । अब चुनाव आउँदै छ, अलिकति त खट्नै पर्यो नि । अहिले माहोल धेरै बिग्रिएको छ । राम्ररी नखटे त चुनावमा हावा खाइहालिन् छ।”- भन्दै निलमणि अफिस कोठाबाट बाहिरिए।

अर्को बिहानै गाउँभरि समाचार फैलियो- “हिजो राति ग्रीनहिल रेष्टुरेण्टमा भएको दुई पक्षको झडपमा धेरै जना घाइते भएछन् । निलमणि लगायत तीन जनालाई त राति नै अस्पताल लगेका छन् रे ।”

गाउँमा चुनावी सरगर्मी निकै बढ्यो । गाउँमा हरेक दिन जसो भिडन्त हुन लाग्यो । गाउँ पुरै असुरक्षितजस्तै बन्यो । यस्तै गर्दागर्दै चुनाव पनि सम्पन्न भयो ।

पालिकामा नयाँ अध्यक्ष लगायत जन प्रतिनिधिहरु निर्वाचित भए ।

नयाँ प्रतिनिधिहरुले भाषण गरे – “समाज विकासको पहिलो आधार शिक्षा हो । हामी सबै भन्दा पहिले शिक्षा सुधारमा लाग्छौँ । सबै विद्यालयहरुबाट शैक्षिक सुधारको सुरुवात गर्छौँ ।”

उपस्थित जनसमुदायले नयाँ प्रतिनिधिहरुको विचारको सम्मान गर्दै ताली बजाए ।

केही दिनपछि सुनियो – “पालिका भित्रका विद्यालयहरुमा प्रधानाध्यापक परिवर्तन गरी शिक्षा सुधारको पहिलो अभियान चलाउने रे।”

“कर्मठ, लगनशील र जुझारु व्यक्तित्व निलमणि सरको नेतृत्वमा यस राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक फड्को मार्नेमा म विश्वस्त छु । प्र.अ. पदमा नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।”- निलमणिको प्र.अ. पद बहालीको अवसरमा पालिका अध्यक्षले आफ्नो मन्तव्य राखे।