ऊ हेर !
त्यो तोरीबारीमा माहुरीको भुनभुन सुनिएको छ !
त्यो उत्सव होला !
तोरीका फूलहरू झुमेका छन्
शायद धर्ती उजिल्याउनुको
पैँचोमा
बाजा बजाउँदो हो !

ल हेर !
त्यो चिउरीको बोटभरि
चमेरोको चिरचिर सुनिदै छ
शायद उत्साहित लोखर्के
मुस्काउँदै
लजाउँदो हो !

आहा !
उन्मत्त छन् फूलहरू
भ्रमराको आतिथ्यका लागि
मखमली कार्पेट
सजाउँदो हो !

फूलैफूलको मौसम
एक उत्सव !
रोमाञ्चक !
रंगीचंगी !
उन्मादले भरिएको मौसम
जहाँ
क्रोमोजोमहरूको समागममा
हर्षोल्लास फैलिन्छ जगतमा
फूलको रस चाख्ने कीटपतंग र चराहरू खुशी
फूल परागसेचनको घडीले खुशी
लोखर्के फल चाख्ने चाहमा खुशी

फूल देखेर
फूलको रङ देखेर झुम्मिने
भुनभुन गर्ने भ्रमराहरू
भ्रमरा देखेर झुम्मिने चार चुरुङ्गीहरू
चरा चुरुङ्गीको रौनक देखेर
ओइरिने जीवजन्तुहरू
जीवजन्तु देखेर
आउने पर्यटकहरू
सबैको एकसाथ उपस्थितिले
मौसम रोमाञ्चक छ

परागसेचनको खबर दिन
लोखर्के कुद्दछ
ऊ कुदेको देखेर
लुकेका धेरैले खबर पाउँछन्

यो मौसम
यो रौनक
अनि उल्लासमा
उत्सव छ
परागसेचनको उत्सव !