चित्रमा बसेको चम्पा
फुल्नु झुल्नु सक्दैन
कोपिला हुर्काउन सक्दैन

गढको गुँडमा
बचेरा बचेरी
ओत लाग्नु सक्दैनन् र पाउँदैनन्

म पनि दुखेसोको
न्यास्रो पनमा
शीतलता ताप्न सक्दिनँ
चित्रको चम्पामा

निर्निमेष कोमामा
सुत्केरी सुतेकोझैं
सुत्छ चित्रको फ्रेममा चम्पा

हुरीले हल्लाउनु
सक्दैन चित्रको चम्पालाई
हुरी ल्याउनु पनि
सक्दैन चित्रको चम्पाले

तर
चित्रको फ्रेमसँग
तितरबितर हल्लिन्छ चम्पा

अरेको भावभङ्गीमा
माटोको चम्पा हराउँदै जाँदैछ

अनि
नानीहरूले चिन्छन्
फुलाङ्गे चम्पालाई
चित्रको फ्रेममा ।

विपिन तिवारी
सिक्किम, भारत