भाइटीकाको लागि निम्ता गर्दै गोरु तिहारको दिन बेलुकी  बहिनीले फोन गरिन्, “दाइ, टीकाको दिन भोलि बिहानै आइपुग्नु है । यसपालि त  टीका लगाउनु पर्छ नि ।”

मैले पनि खुशी हुँदै  भनेँ, “हुन्छ नि, म जसरी पनि टिकाको साइत छोप्न आइपुग्छु । ल पक्का भयो ।”

तिहारमा बहिनीको हातको टीका नलगाएको पनि धेरै वर्ष भइसकेको थियो । कहिले जुठो, कहिले सुत्केरो, कहिले परदेश यस्तै-यस्तै अनेकौँ बाधा-व्यवधानका कारण हाम्रो टीकाको साइत कहिल्यै जुर्न सकेको थिएन । तर यो वर्ष भने पक्कै जुर्छ भन्ने मलाई विश्वास थियो । दाइलाई टीका लगाउन पाइन्छ भनेर बहिनी पनि  अत्यन्तै खुशी थिइन् ।

टीकाको दिन बिहानै म बाइक लिएर हुइँकिएँ । तीन घण्टाको बाटो पार गर्दै ठीक नौ बजे बहिनीको घरमा टुप्लुक्क पुगेँ ।

आँगनमा उनी झोक्राएर  बसिरहेकी थिइन् । अनुहार पनि अलि मलिन देखिन्थ्यो । म नजिकैको कुर्सीमा गएर टुसुक्क बस्दै भनें, “के भो तिमिलाई सन्चो भएन ?” बैनी न्याउरो मुख पारेर सुँकसुँक गर्न थालिन् ।

मैले सोचेँ— शायद तिहारको धपेडीले अलि अस्वस्थ भएकी होलिन् । गाह्रो भो होला । म भान्जाभान्जीहरूसँग रमाउँदै थिएँ ।

घडीले दश बजेको टिकाको साइत शुरू हुनै लागेको  सङ्केत दिइरहेको थियो ।

तर बैनी  त बसेको ठाउँबाट हलचल नै गर्दिनन्, म अलि सशङ्कित भएँ ।

“ल, बहिनी, अब जति गाह्रो भए पनि बिस्तारै टीका त लगाउनै पर्‍यो अब तयारी गर ।  साइत शुरू हुन थाल्यो ।”

उनको आँखामा आँसु टिलपिलाई रहेको थियो, के भयो तिमीलाई ?

“हेर, टीकाको साइत छोप्न कतै नरोकी सरासर म समयमै आइपुगेको छु ।”  भन्दै म कुर्सीबाट जुरुक्क उठेँ र उनको निधारतिर हात बढाएँ । तर उनी त झन् पर-पर सर्छिन् ।

“होइन, के नाटक गरेको तिमीले ?” म अलिकति कड्किएँ।

उनको आँखाबाट आँसु बरर बग्न थाल्यो ।

उनले मलिन स्वरमा भनिन्, “होइन दाइ… मलाई सब ठीक छ । नजिक नआउनुस्.. म भर्खरै पर सरेर बसेकी । एक घण्टा भयो… मिन्स भएको ।”