घरकाे यौटा कुनामा मदानी उभिइरहेको छ । अर्को कुनामा ठेकी गजधम्म बसिरहिछ।
मदानी भन्छ, “धेरै दिन भाे मैले तिम्रो जिउमा नाच्न नपाएको। नाचूँ नाचूँ पो लागि रहेछ।”
ठेकी भन्छे, “नाच्यौ खुब । एकै छिन नाच्यो थकाइ मार्याे । फेरि नाच्यो। त्यसरी पनि नाच हुन्छ ? नाचे पछि एक नास नाच्न सक्नु पर्छ। मलाई त नचाउन मन पनि छैन यस्ता पानी मरुवालाई।”
मदानी चुप लागेर बसिरह्यो। केहि बोलेन।
यौटी केटी गाउँकी चिनाजानी नानी आइन्। यताउति हेरिन्।
के भनेर यो घरकाे मान्छे बोलाऊँ भन्ने साेचिन् र जेठाजु सम्बाेधन गरिन्, “जेठाजु ! ए जेठाजु !!”
उनले घरका मान्छे बोलाइन्।
घरभेटी फुत्त बाहिर निस्के र भने, “ए किन आयौ दुलही ? भन न।”
ती नानीले भनिन्, “हेर्नोस् न एक मुठी दही पारिराथेँ। मोही बनाऊँ नाैनी झिकाैँ भनेको । मदानी नै छैन भन्या। तपाईंको घरमा मदानी देखेकाे थिएँ । एकै छिन काम चलाउन दिनु हुन्थ्यो कि भनेर माग्न आएकी।”
घरभेटीले पनि मुसुक्क हाँसेर भने, “भै हाल्छ नि। कामकाे माल हो। काम चलाएर ल्याइदिनु। ल लैजाऊ ।”
मदानी दिए।
मदानीले पुलुक्क कुनाको ठेकी हेर्याे र भन्यो, “इच्छा लागेपछि भगवानले पनि पुर्याउँदा रहेछन्, बुझ्याै ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 









