वैज्ञानिक सम्मेलन धूमधामले अगाडि बढ्यो । रोनास्टका निदाउरेहरूको निद्रा उड्यो । लोडसेडिङको बेला सधैँ पङ्खा हम्किरहनु पर्ने परिचरले मनमनै भन्यो “खुच्चिङ ! अब कसरी निदाउलान् हेरूँ यिनीहरू । चारदिन त अब आफू मज्जाले सुतिन्छ ।”

कार्यपत्रहरू प्रस्तुत भए । लोडसेडिङ हटिसकेको थियो । कार्यपत्रहरू पढ्दापढ्दै आँखाका ढकनी बन्द हुन खोजिरहेका थिए ।

टिप्पणी के के पछि त … प्रमुख अतिथि मन्त्रीज्यूको भाषणसम्ममा आइपुग्दा नानीदेखि लागेको बानीले छोपिहाल्यो । सबै सदस्यहरूका आँखा बन्द भए । भाषण गरिरहेका  मन्त्रीज्यू आफूलाई अपमानित महसुस गर्दै थिए । जसोतसो भाषण सकेर तल झरे । समापनपछि स्वाभाविक डिनर त थियो नै  ।

डिनर सकेर मन्त्रीज्यूको मुख खुल्यो, “तपाईंहरू  जस्ता  प्राज्ञले पनि मैले भाषण गर्दा सुत्ने हो ?”

मन्त्रीज्यूको कुरा सुनेर उनीहरू एक आपसमा मुखामुख गर्न थाले ।

नजिकै ह्विस्कीको स्वाद चाखिरहेको परिचरले निल्दै कुरा टप्कायो – “कहाँ हो र मन्त्रीज्यू ? उहाँहरू  घत लागेका कुराहरू सुन्नुपर्यो भने  ध्यानपूर्वक सुन्नुहुन्छ । निदाउनु भएको कहाँ हो र ? नपत्याए सोधिस्योस् हजुरले के के बोलिस्यो भनेर ।”

मन्त्रीज्यू चुपचाप लाग्नु भो किनकि मन्त्रीज्यूलाई नै थाहा थिएन, आफैले के बोलेँ भनेर मन्त्रीज्यूले त अङ्ग्रेजीमा भाषण गर्नुभएको थियो जुन सचिवबाट लेखाइएको थियो ।