हरिदत्त गुरु गुरु पूर्णिमाको दिन निराश भए । कारण, उनलाई भेट्न कुनै पनि चेला / विद्यार्थी आएनन् । यहाँसम्म कि कसैले एक कल फोन समेत गरेनन् ।

“ए. आइ. को जमानामा मानिसहरू सायद यन्त्रलाई नै गुरु मान्न थाले ।” उनले सोचे ।

तीस वर्ष भन्दा धेरै शिक्षण गर्दा उनले हजारौं विद्यार्थीलाई शिक्षित-दीक्षित गरेका थिए । आफूद्वारा उत्पादित विद्यार्थी राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा सेवारत भएको कुरामा उनी गर्व गर्थे । सम्झे – मैले पढाएका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, उद्यमी, कलाकार, कर्मचारी आदि भएका छन् । सबै सबै राम्रो क्षेत्रमा पुगेका छन्, सफल भएका छन् । मलाई त्यही कुराको खुसी छ । कोही भेट्न नआएर के भो त ?

अपराह्नमा एक जना विद्यार्थी आयो र उनका गोडा ढोग्दै भन्यो, “गुरु, आशीर्वाद पाऊँ । आज गुरु पूर्णिमा । मैले गुरुलाई कहाँ भुल्न सक्छु र ।”

आशिष दिएपछि उनले सोधे, “धेरै वर्ष तिमीलाई देखिनँ नि । कहाँ थियौ ?”

उसले गुरुलाई दक्षिणा दिँदै भन्यो, “लागूऔषध कसुरमा जेल परेको थिएँ ।”