झोला बिसाएर आमालाई ढोग्दै छोराले भन्यो, “ओहो ! स्वर्ग !” पानी पिएर भन्यो, “अमृत”। लामो यात्राको थकाई मेटिएपछि खाना खाएर चुठ्दै भन्यो, “आमाको हातै मीठो। धेरै पछि तृप्त भइयो, बल्ल पेट भरियो।” र त्यसपछि पनि भनिरह्यो, “यहाँको हावै शीतल।”, “कति शान्त, कति आनन्द”। “कति फुर्सद, बल्ल ढुक्कले सास फेर्ने समय पाइयो”।

आमाले सुन्दै हाँसिरहिन्, छोरोले हाँस्दै सुनाइरह्यो।

साँझमा अस्ताउँदो सूर्य हेर्यो। बाँसघारीका रुपी कराएको सुन्यो र बाल्यकाल सम्झिएर नोस्टाल्जिक भयो। छोराले साँझमा भ्यागुताको ट्वार्र ट्वार्र सुन्यो । आँखा चिम्लिएर आनन्द लियो। अझै अँध्यारो भएपछि खुल्ला आकाशमा ताराहरू हेर्यो। बिहान जुगौँदेखि नदेखेको घाम उदाएको घटना छोरालाई अचम्म लाग्यो, र बडो विस्फारित नेत्रले सूर्योदयको दृश्य हेर्यो।

र, बारम्बार भनिरह्यो, “स्वर्ग ! यो त स्वर्ग हो।”

फर्कने दिन झोला बोक्न लागेको छोरालाई आमाले भनिन् , “यो स्वर्गै हो भने, किन फर्किन्छस् त बा, स्वर्गमै बस्। कि यो स्वर्ग-स्वर्ग भन्ने स्वाङ नपार।”