‘हैन कता जान लाग्नु भो ?’ सुलोचनाले पति रामकृष्ण जीलाई तयार भएर निस्किएको देखेर सोधी । रामकृष्ण जीको सहज उत्तर ‘अफिस, कता जानु !’
सुलोचना अचम्म मान्छिन्, ‘अस्ति शुक्रवार मात्र होइन तपाईंको बिदाइ भएको ? अब त रिटायर्ड मान्छे होइन तपाईं ?’
रामकृष्ण जी झसङ्ग हुन्छन् । मानसपटलमा शुक्रवारको बिदाइ कार्यक्रमको झझल्को आउन थाल्छ । ए हो त नी ! म त अव निवृत्तिभरण प्राप्त मान्छे । उनी कोठाभित्र नै फर्कन्छन् र ओछ्यानमा थचक्क बस्छन् ।
रामकृष्ण जीलाई आफ्नो जागीरे जीवनको सम्झना आउन थाल्छ । कसरी इमान्दारिताको दृढतालाई उनले जागीरे जीवनको अन्तिम दिनसम्म कायम राख्न सक्यो । हुन त तलमाथि गर्न धेरैले दवाव नदिएको पनि होइन । सरुवा भएर कमाउ ठाउँमा नपुगेको पनि होइनन् उनी । तर उनले आफ्नो नामलाई बदनाम हुन नदिने प्रण लिएरै आजको दिनसम्म आइपुगेका छन् ।
उनलाई कर्मचारी साथी समर्पणको याद आउँछ ।
‘ल है समर्पण जी हामी एउटै फाँटमा छौं । मेरो नाम रामकृष्ण र म भगवान् रामको नामलाई इमानदारिताका साथ बदनाम हुन दिएको छैन । तपाईं पनि समर्पण आफ्नो इमानदारिता र काममा नै समर्पित हुनु होला ।’
त्यो दिन समर्पण जी फिस्स हाँसेका थिए । अनि हेर्दाहेर्दै समर्पण जीले काठमाडौंमा जग्गा, घर किनेको र मजाले धन सञ्चय गरेको अरूबाट सुनिन थाल्यो । तर रामकृष्ण जीलाई यस प्रकारका सूचनाले खासै फरक पारेन । उनी आफ्नो दृढतामा अडिक थिए । अभाव र आर्थिक समस्याहरू नआएका होइनन् । घरमा श्रीमती र छोराछोरीबाट किचकिच पनि नभएको होइन । जेजस्तो भए पनि दश धुर जमीन र त्यसमा एकतले घर टेकाउन उनी सफल भए । अलिअलि बैङ्कको किस्ता त टाउकोमा छँदै छ तर छोरालाई जसोतसो बी ए गराएर जागीरे बनाउन सफल भएकै हुन् ।
पुर्खौली जमीन बेचेरै भए पनि छोरीलाई अस्ट्रेलिया पठाएपछि आफ्नो जिम्मेवारी धेरै कम हुने सोचाई छ उनको । यतिका वर्षहरू कसरी बिते हिजो जस्तो लाग्छ नियुक्ति लिएको । हेर्दाहेर्दै रिटायर्ड भइसकिएछ । जागीरमा यति लिप्त भइयो साथीभाइ टाढिए । जागीरे साथीहरूको स्ट्याटस मेरो भन्दा निकै माथिको छ । उनीहरूको आर्थिक, सामाजिक अवस्थालाई देख्दा कताकता आफूमा हीनताबोध पनि भएको हो की जस्तो आज उनलाई महसूस भयो । ‘रिटायर्ड लाइफको तयारी पनि मैले त गरेकै रहेनछु । अब कसरी जीवन व्यतीत गर्ने ? के घरैमा बसेर दिन बिताउन सकूँला र ?’ उनी सोच्न थाल्छन् । ‘के गर्ने ? यो घरको बसाइले मलाई डिप्रेशन नै हुने हो कि ?’ उनी एक टक लगाएर घोरिन पुग्छन् ।
सुलोचना आफ्नो काम सकेर कोठाभित्र पसेको पनि उनलाई बोध भएन । ‘हैन के भयो ? किन घोरिएको ?’ श्रीमतीले कराउँदा उनी झसङ्ग हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










