१. शान्ति

“अब तेस्रो विश्वयुद्ध हुने निश्चित छ” हिमालले ठोकुवा गरे ।

“कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ? मनगढन्ते कुरा गरेर हुन्छ ? प्रमाण पेश गर्नुपर्दैन ?” बादलले शंका व्यक्त गरे ।

हिमालले झोक्किंदै भने, “प्रमाण नै प्रमाण । रुस-युक्रेन युद्ध, मध्य पूर्व, इजरायलको तनाव होस् वा बेलायत लगायत विभिन्न मुलुकमा भएका आप्रवासी दङ्गा । के, यी प्रमाण काफी छैनन् ?”

प्रतिप्रश्न गर्दै हिमाल बोल्न छोडेनन् । “विश्वव्यापी सैन्य द्वन्द्वहरू हुन वा अमेरिका र चीन बीचको बढ्दो भूराजनीतिक तनाव ! यी सबै तेस्रो विश्वयुद्धका बलिया संकेतहरू हुन् । अमेरिका, चीन र रुस लगायत विश्वका शक्तिशाली राष्ट्रहरूले विश्वमा आफ्नू आधिपत्य जमाउन गरेको होडबाजीले गर्दा क्षेत्रीय द्वन्द्व र शक्ति सङ्घर्षहरूले विश्वयुद्धको जोखिम स्वतः बढेको छ ।” यसो भनिरहँदा हिमालका आँखा राता भएका थिए भने अनुहारमा आक्रोश प्रष्ट झल्कन्थ्यो ।

तेस्रो विश्वयुद्ध हुने हिमालको तर्क र प्रमाण सुनेपछि बादलले फेरि प्रश्न गरे, “यसरी युद्ध गरेर लाखौं मानिसको मृत्यु, हिंसा, हत्या गरेर पनि विश्व शान्ति हुन्छ त ?”

हिमाल एकछिन गम्भीर सोचमा परे र जुरुक्क उठेर जवाफ दिए, “हिंसाले अन्ततोगत्वा हिंसा नै निम्त्याउँछ, तेस्रो विश्वयुद्ध रोक्न र विश्वशान्तिका लागि शान्ति नै चाहिन्छ ।”

रेडियोमा समाचार बझ्न शुरू भएकोले दुवै जना चूप लागेर समाचार सुन्न थाले ।

रेडियोमा समाचार प्रसारण भइरहेको थियो : “विश्वले अब तेस्रो विश्वयुद्ध थेग्न नसक्ने ठहर गर्दै संयुक्त राष्ट्र सङ्घको बैठकले विश्वव्यापी रूपमा युद्ध विराम गर्न पहल गर्ने निर्णय गरेको छ ।”

—–

२. सम्बन्ध विच्छेद

“त्यो मान्छेसँग म एकछिन पनि बस्न सक्दिन ।” तीजको दर खाएर घर फर्कनु अघि छोरीले दुखेसो पोखिन् ।

“गर्ने बेलामा प्रेमविवाह गर्ने ! अहिले आएर यस्तो भन्ने ? माइतीको इज्जतको त ख्याल राख !” आमाले उल्टै हप्काइन् ।

“अमेरिकाको घटना सुने देखि मेरो श्रीमान् भनाउँदोले मलाई पनि त्यसैगरी मार्ने हो कि ? भन्ने डर लाग्न थालेको छ ।” भन्दै छोरी आमासँग लेपासिन् ।

आमाले सम्झाउन खोजिन्, “विवाहबाट जोडिएको श्रीमान् र श्रीमतीको सम्बन्ध तोड्नुहुन्छ ? विवाह सामाजिक, कानूनी, सांस्कृतिक मूल्य र मान्यताको जगमा अढेको हुन्छ । सम्बन्धविच्छेद गर्नु भनेको धर्म संस्कृति विपरीत हो । मिलेर बसेस् ।”

“ज्वाइँले मलाई माया त धेरै गर्नुहुन्छ । मैले गाली गर्दा उल्टै चूप लागेर बस्नुहुन्छ । तर मेरा दुईजना साथी श्रीमानलाई छोडेर एक्लै बसेका छन् । के एउटा पुरुषसँग टाक्सिएर बस्छेस् ? पारपाचुके गर, ‘फ्रिडम’ हुन्छ, मोज, मस्ती गर्नुपर्छ भन्दै छन् । लोग्ने मान्छेको भर हुँदैन रे । सुतेको बेलामा घाँटी थिचेर मार्न सक्छन् भनेर डर देखाउँछन् ।” छोरीले बेली बिस्तार लगाइन् ।

छोरीको दिमागमा गलत संगतको असर परेको आमालाई बुझ्न गाह्रो भएन । सामाजिक सञ्जालको गलत प्रभावले गर्दा छोरीले आफ्नू छँदाछँदैको घर, परिवार र सम्बन्ध बिगार्न लागेको आमाले थाहा पाइन् । आमाले खुकुरीको धार आफ्नू घाँटीमा राखेर छोरीलाई सोधिन्, “ज्वाइँले तिमीलाई घरेलु हिंसा गर्नुहुन्छ ? वा तिमीहरू बीच कुनै माया छैन वा मन मिल्दैन भने म नै सम्बन्धविच्छेद गराइदिन्छु । हैन भने मेरो मृत्यु पछि जे मन लाग्छ त्यै गर्नू ।”

छोरीले आमाको हातबाट खुकुरी खोसिन् र ब्याग बोकेर आफ्नै घरतिर लागिन् ।