उत्तरतिरबाट सदियौ बग्दै आएको भेरी नदी । पारि जाजरकोट कालागाउँ, वारि सोति गाउँ रुकुमको ।

हर्क वादी दिनभर डुङ्गा तारिरहन्थ्यो । नानी साहेबलाई प्रदेशतिरबाट आउँदा हर्कले धेरै वर्षसम्म नदि तार्ने काम गरे । नानी साहेब आउँदा केही न केही उपहार दिन्थिन् ।

क्यामेराले फोटो खिच्ने डुङ्गामा बसेर हर्क वादीले तार्दै गरेको फोटो कति छ अझै पनि नानी साहेबको पुरानो एल्बममा ।

हर्क वादी खाइलाग्दो हिस्सी परेको थियो ।

नानी साहेबले, “हर्क दाइ मलाई एकदमै मन पर्छ । बिहे गर्ने हुन्छ ?” भन्दै जिस्काउँथिन् ।

हर्कले, “नानी साहेबले के त्यस्तो भनिबक्सेको हैट !” भन्दै लजालु अनुहार बनाउँथ्यो ।

नानी साहेबले साँच्चिकै माया गर्थी । बाबू साहेबको छोरी भए पनि धन मनको घमण्ड थिएन ।

एकदिन “हर्क ! मैले तिमीलाई एउटा घडी, टि सर्ट, पाइन्ट ल्याइदेको छु” भन्दै हातमा दिइन् ।

हर्कले पनि स्वीकार गर्दै लियो, खुशी भयो । फोटाहरु खिचे । नानी साहेबलाई हर्कले भेरी नदीमा पौडी खेल्न सिकायो । माछा मारेर झोलाभरी दिएर पठायो “यो मैले मारेको असला, बुदुन, बजेला इत्यादि माछाका जात” भनेर ।

नानी साहेबले पनि जमानाको १ हजारको नोट थपाइन् बुढी छोराछोरीलाई दिनु भनेर।

हर्केले सदियौ आफूलाई तारेको डुङ्गालाई नियालिन्, “डुङ्गा त पुरानो भएछ ।”

हर्कले त्यही पुरानो डुङ्गालाई टालटुल गरेर चलाउँदै थियो । नदी तार्ने गर्दै थियो ।

अब त राजमार्ग बने पछि, पुल बने पछि मान्छेहरु आउनै छाडे । गाडी प्रदेशतिर बाट जाजरकोट पुग्न थाल्यो । बिस्तारै नानी साहेब उतै बाट जान थाल्नुभयो । बिस्तारै हर्कको डुङ्गा पनि पुरानो हुँदै गयो बिरानो हुँदै गयो १/२ जना आउँथे । तार्थ्यो ।

पछि त त्यति नि आउनै छाडे । गाडी गाउँ गाउँ चल्न थाल्यो । एक दिन मुसलधारे पानी पर्यो वर परका घर बगाएछ । हर्कको पुरानो डुङ्गा नि बगाएछ । स्मृतिमा नानी साहेब कहाँ छिन् ? हर्कले टोलाइरहन्छ ।