“अनपेक्षित घटना भयो । अचेल मानिसहरू फुस्स फुस्स जान थाले ।” डोरमानले भन्यो ।

“पत्याउनै गाह्रो । हिजोसम्म हाँसखेल गरेको मान्छे । आज छैन ।” श्रीमतीले थपी ।

“कोही हृदयाघातले, कोही मस्तिष्कघातले, कोही अर्बुदले, कोही यस्तै यस्तै अरूले । मृत्यु धेरै सहज हुँदैछ । र झन् आकस्मिक पनि ।” डोरमानले फेरि भन्यो ।

त्यस आकस्मिक भनिएको मृत्युको खबरले डोरमानलाई आफ्नै मृत्युप्रति संवेदनशील तुल्यायो । उसले गम्भीर भएर सोच्यो । “म अचानक ढलेँ भने मेरो परिवार सडकमा आउने स्थिति छ । न त मसँग सम्पत्ति छ न त छोडेर जानलाई कुनै विरासत । मैले मृत्युको योजना बनाउनै पर्छ ।”

डोरमानले आफ्नो जीवन बिमा गरायो । अलिकति पुँजी बजारमा लगानी गर्‍यो । गाउँको छोडेको बारीमा फलफूल लगायो । श्रीमतीलाई अलिअलि वित्तीय शिक्षा दियो । एम्बुलेन्स र ट्याक्सीको फोन नम्बर पनि लेखेर राख्यो । यति गरेपछि उसलाई अलिक सन्तोष भयो । उसले श्रीमतीलाई भन्यो,  “चिन्ता नलेऊ । जीवनको के भरोसा छ र । अचानक म रहिनँ भने पनि तिमीहरूलाई पाँच वर्ष बसेर खान पुग्छ । त्यसपछि छोराछोरीले पनि कमाउन थाल्लान् ।”

“यस्तो कुरा गर्दै नगर्नुस् । मृत्यु हाम्रो विषय होइन । जीवनको बारेमा सोचौं ।” श्रीमतीले भनी ।

“मृत्युको आभास मात्र पाए पनि मानिस के गर्दो हो ? जसरी जागेपछि निदाएको थाहा हुन्छ, सम्झेपछि बिर्सेको सम्झना हुन्छ ठिक त्यसरी नै जन्मेपछि मरेको किन स्मरण हुँदैन ?” उसले भन्यो ।

डोरमानले परिवारको आर्थिक सुरक्षाका ढोकाहरू खोलेको छ महिना मात्र भएको थियो । उसको अघोषित मृत्युको योजना कार्यान्वयनमा आइसकेको थियो ।  एक दिन उसकी श्रीमती अचानक बाथरुममा ढली । उसले श्रीमतीलाई तत्काल अस्पताल पुर्‍यायो ।

डाक्टरले केही औपचारिकता र केही जाँचपछि भन्यो, “सरी अलिक ढिलो ल्याउनुभयो ।”