“कति रक्सी धोक्न सकेको ऋषि तिमीले ? तिम्रा निम्ति मैले आमा-बाबा छोडेँ । तिमीले रक्सी छोड्न सकेनौ… !”
भक्कानिँदै रत्नाले होस गुमाएको लोग्नेको लुगा फेरिदिँदै टोपी र तातो मोजा लगाइदिइन् र बाक्लो कम्बल ओढाइदिइन् । माघको महिना बाहिर कठ्याङ्ग्रिने जाडो थियो।
रक्सीले टन्न भएर खुट्टा लरबराउँदै पसेको ऋषि बेहोसमै बरबराउन लाग्यो, “नकरा ए लोदरे! बाँझी छस्, एउटा नानीसम्म पाउन सक्दिनस्, खुब ठुला-ठुला कुरा गर्छेस् ! साथी-भाइलाई मुख देखाउन लाज भइसक्यो, कतै नभाकी नकचरी…।”
आखिरमा बिहे भएको छ वर्षसम्म पनि जयजन्म नहुनुमा दोष कसलाई दिने ! पतिको वचनले असह्य भए पनि रत्नाले पचाउँथी । कल्पना गरी, स्वास्थ्य चौकी गएर जँचाउनु पर्ला…। रातभर निद्रा परेन, आँसुले सिरानी भिज्यो ।
एक पटक डाक्टरको सल्लाह लिने परामर्श रत्नाले पतिदेवसित राखी तर बिहान भने ढुङ्गो बोल्ला ऋषि बोल्दैनन् । बेलुका बोलिनस्कनु हुन्छ । रत्नाको यहाँ कुनै सल्लाह लिने दिने आफ्नो पति बाहेक कोही पनि थिएन, उसको कुरा खोलाको गीत हुन्थ्यो ।
गाउँमा स्वास्थ्य शिविर लाग्दै छ भन्ने कुराले रत्नाका मनमा कौतुहलता छायो । ऋषि यस्ता कुराहरूमा गम्भीर थिएनन् यसर्थ अफिस गएको मौका पारेर रत्ना डाक्टरको परामर्श लिन स्वास्थ्य शिविर गई । डाक्टरले पनि केही भिटामिन र आइरन चक्की दिँदै भने, “यहाँ जाँच गर्न सकिन्न ! दुवै जना अस्पताल गएर जँचाएको राम्रो” भन्ने सल्लाह लिएर घर फर्की । घर फिर्दै गर्दा बाटामा मुसलधारे पानी परेर रोक्यो । केही बेर पवित्राका घरमा ओत लागेर बसेपछि पानी थामियो ।
रात परेपछि मात्र घर आउने लोग्ने आज दिउँसै टिल्ल भएर आएका रहेछन् । रम्रिएर चिटिक्क परेर आएकी श्रीमतीलाई देखेर ऋषिका नेत्र बले, सीधै झम्टिन पुगे तर रत्ना तर्किने हुँदा भित्तामा बजारिए । सधैँ ऋषि आउँदा सँघारमा लालटिन बालेर उज्यालो राखिदिने रत्नाले आज दिउँसै मातेर आएको लोग्नेलाई समाएर उठाउन पर्ने स्थिति आइपरेको थियो ।
भित्तामा बजारिएर लडेका पतिदेवलाई सकी नसकी उठाउँदै गरेकी श्रीमतीप्रति नानाभाँती पाँडेगाली गर्दै भने, “दिनभरि भोक भोकै अफिसको काम गरेर आउँदा पनि घरमा भात पकाउन छोडेर कहाँ गएकी थिइस् ए ! नकचरी !! यही हो तेरो चर्तिकला ? घरमा आगोसम्म जोरेको छैन, कुन आँटले पस्छेस् घरभित्र ! यो सँघार कसरी नाघ्छेस् हेर्छु म पनि।”
जुन सँघारमा पूजा गर्दै पसेकी रत्ना, पतिदेव आउँछन् भनेर लालटिन बालेर उज्यालो पारेर राखेको सँघार, आज उही सँघार रत्नाका निम्ति बाधक बन्दै थियो। काँडे तार भएको भान हुन्थ्यो ।
यता ऋषि गाउँ नै थर्काउने गरी कराइरहेको थियो, मानौँ आज ऊ अन्तिम पटक कराइरहेछ ।
गान्तोक, सिक्किम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।