‘‘तिर्छस् भने तिर, नत्र तेरो च्यापुस्यापु यताको उता, उताको यता…’’ भन्दै नं. १ ले उसको नाकैबाट चोर औलो हुइक्याउँदा उसका खुट्टा काम्न थालिसकेका थिए ।

‘‘डाँका ! खाए पछि तिर्न नजान्ने, तेरो बाउको अंश हो र ? चुप लागेर बस्छस् ?’’ भन्दै नं. २ ले बक्सिङ उझाउँदा उसको अनुहार कालो, निलो भएको थियो ।

‘‘स्वास्नीको दाइजो जस्तो पो ठान्दो रहेछ, जति भने पनि खपाखप हसुर्ने ।’’ भन्दै  नं. ३ ले उसको कपाल अँठ्याउँदा उ थ्याच्च बस्न खोजेको थियो । त्यही बेला  नं. १ र नं. २ ले एक–एक लात हानेका थिए ।

त्यही बेलुकी उसलाई ज्वरो आयो । ऊ लम्पट परेर थोत्रे ओछ्यानमा पल्टियो र जबरजस्ती बाजे, बाउ र आफूलाई तुलना गर्यो ।  बाजेले बाउलाई ऋण छोडेर गए । बाउले मलाई छोडेर गए । अव म ज्वरो आएर सुतेको छु । यो ऋण ज्वरो घट्ला कि बढ्ला ?

छोराको भविष्य र स्वास्नीको मलिनो अनुहार सम्झिंदा उसका आँखाबाट आँसु तरक्क झरेका थिए र मुखबाट अचानक आवाज निस्किएको थियो ‘ऋण’ । ‘

सँगै सुतेकी स्वास्नी झस्सक्क झस्केकी थिई । छोरो एक तमासले रोइरहेको थियो ।