“त्यस्ताको सङ्गत गरेर हुन्छ ?” उनले आवेग मिश्रित प्रश्नको झटारो हानिन् ।

“को त्यस्ता ? कस्को सङ्गत ? बुझेको भए त मरी जाऊँ !” मैले जवाफ फर्काएँ ।

उनले भनिन्, “त्यौ ट्याटुवाला के त ?”

मैले हाँस्दै भनें, “ए ! नर्मनको कुरा गरेकी ? ऊ राम्रो मानिस हो । उसको बारेमा किन त्यस्तो अन्ठसन्ठ बोलेकी  ?”

“राम्रो हुन्छ ! हेर्दै ट्यापे, दुर्व्यसनी जस्तो देखिन्छ !” उनले पुनः नर्मन प्रतिको परेको छाप व्यक्त गरिन् ।

मैले नर्मनको ट्याटुको बारेमा बेलिबिस्तार लगाएँ, “उसको शरीरमा भएको सबै ट्याटु देख्यौ भने तिमी त बेहोस नै हुने रहेछौ । दुवै हातमा डरलाग्दा दानव/राक्षसका आकृति छन् । छातीमा आमा,बाबा, श्रीमती र छोराछोरीको आकृति छ ।”  उसले भनेको – हामीमा दानवीय र दैविक  दुवै गुण हुन्छ रे । कुन रूप देखाउने हो हामीमा भर पर्छ रे । यही रूप हाम्रो स्वभाव भएर देखिने हो अरे ।”

मैले नर्मनको ट्याटुको बारेमा बताई रहँदा उनी सुनेको सुन्यै भइन् ।

म भने ब्याख्या गर्दै गएँ । “पाखुरामा भएको राक्षसको चित्रले उसलाई सचेत गराइराख्छ रे । छातीमा कुदिएको परिवारको कलाले उसलाई परिवारको दायित्वबोध गराइराख्छ रे । यसरी, राक्षसी प्रवृतिबाट आफ्नू परिवारलाई बचाइराख्ने वा संरक्षण गर्ने अर्थमा उसले त्यो ट्याटु बनाएको रहेछ । ट्याटु एक कला रहेछ । ट्याटु सिर्जनशील कार्य रहेछ ।”

उनले एक श्वासमा बोलिन्, “बल्ल मेरो घैँटोमा घाम लाग्यो, ट्याटु खोपेको वा बाहिरी रूपको आधारमा कसैलाई असल वा खराब भनेर छुट्याउनु नहुने रहेछ ।”