“उपाय निस्कियो, सयौं परमाणु बम विस्फोट गराउने !” धेरै बेर देखि टाउकोमा हात लगाएर सोचमग्न भएको एलन एक्कासि उत्साहित हुँदै बोल्यो ।

सबै जनाले जिज्ञासु भावमा एलनतर्फ ध्यान मोडे ।

“हो, जलवायु परिवर्तनले गर्दा हाम्रो पृथ्वीमा तापक्रम बढिरहेको छ । हिमाल पग्लिरहेका छन् । यही रफ्तारमा तापक्रम बढ्दै रह्यो भने केही समयपछि पृथ्वी बस्न लायक हुने छैन । सबै जीव, वनस्पति नष्ट हुने छन् । मान्छेको अस्तित्व बचाउनको लागि पनि वैकल्पिक उपाय खोज्नै पर्छ ।” बोल्दाबोल्दै अलि भावुक बन्यो एलन ।

“अझ ओजन तहमा प्वाल परेर सूर्यबाट आएका विषालु विकिरणले पनि हाम्रो अस्तित्व संकट पार्ने कुरा नकार्न सकिन्न ।” रसेलले पनि बीचैमा आफ्नो धारणा व्यक्त गर्‍यो ।

“त्यसो त स्टेफेन हकिङले पनि यही चिन्ता व्यक्त गरेका थिए । अकस्मात् क्षुद्रग्रह आएर पृथ्वीसँग ठोक्किएर पनि प्रलय हुन सक्छ । डाइनोसर जस्तै मानव अस्तित्व नामेट हुन सक्छ ।” प्रोफेसर हेमिल्टनले एलनको विचारलाई बल पुर्‍याउने विचार प्रकट गरे ।

“त्यसैले मङ्गलमा विस्फोट गराएर त्यहाँको तापक्रम बढाउनु पर्छ । अनि त्यहाँ स्थित बरफ पग्लने छ । तत्पश्चात् उपलब्ध पानी र मङ्गलमा पाउने अत्यधिक कार्वनडाइ अक्साइडलाई विच्छेद गरी अक्सिजन बनाउन सकिने छ । अक्सिजन, कार्वनडाइ अक्साइड र पानी भएपछि हरितगृह बनाई वनस्पति उमारिने छ । अनि मङ्गलमा जीवन सम्भव हुनेछ ।” एलनले दृढतापूर्वक प्रष्ट्यायो ।

“मङ्गलमा आणविक विस्फोट गराउने कुरा प्राकृतिक सन्तुलन विरुद्ध हुनेछ । यस्तो गर्नु किमार्थ उपयुक्त हुँदैन । बरु कसरी हुन्छ हामीले हाम्रो पृथ्वीलाई कमभन्दा कम क्षति हुने व्यवहारहरू अपनाउनु पर्छ । वातावरण संरक्षणको लागि व्यापक रूपमा चेतनामूलक अभियान संचालन गर्नुपर्छ ।” पिटरले एलनको विचारको खण्डन गर्दै कुरा राख्यो ।

उपस्थित अधिकांशले एलनको विचारमा सहमति जनाउँदै मङ्गल अभियान सफल पार्ने दृढ सङ्कल्प गरे।